ब्ल्याकहोल, आँखा र घाऊको लय – जीवन युगीन
गति, प्रकाश, पिण्ड
रंग रागिनी,
अनुराग, पराग
फूल, नदी,हिमाल सारा कुरा रचेर पनि
किन दौडिएकी छे धरा ?
मदिराको धारा जस्तै…
मेरै मन र बिधुत जस्तै ।
रहर सधैं आधा अधूरा छन्
सधैँ आधा अधूरा ।
प्रयत्न कति गरुँ?
पूर्ण होस् कुनै यात्रा ।
पूर्ण होउन् कति हेराई ।
पूर्ण होस् ,
कुनै एक साँझको यात्रा ।
स्वाट्ट निख्रीयोस
अन्तिम पेगझैं
रहरको लय ।
चटक्क चुँडोस
काँचो धागोझैं
तिमिलाई,
हेरिरहनुको प्यास ।
सिनेमाको “द इन्ड” जस्तै
वाक्य जस्तै,
जोडिनुको एक धारा टुटोस ।
मलाई !
प्रेमको यो दु:खको
गर्भपात गरेर,
उन्मुक्त होऊ जस्तो पनि लागेको छ
र आँखाभरी,
क्याक्टस फूलेको रोमान्चकता थाम्न पनि
मन लागेको छ ।
मन बुझ्न नसकेर दौडिरहेछु कि?
सृष्टीकै कुनै अनन्तता छुन
भड्किईरहेछु ?
अहँ !
निभ्दैन दियो जस्तै रहर
डुब्दैन घाम जस्तै रहर
भिज्दैन पूरै रनबन,
कुना र कन्दराहरु जस्तै
मनको शहर
एक ढिट जसरी उभिएको उभियै गर्छ
र हरदम सताईरहन्छ ।
हेरुँ
पर्खुँ
सुनुँ बदलावहरु
विविधता र बैभवहरु
बान्की र चालहरु ।
नदेखिने गरि बिझेको
नदेखिने शूल !
कसरी प्रहार गरिदियौ?
हर चिज बदलिएको छ
हर कुरा रुपान्तरित
कुनै अनन्त सुरुङ्गभित्र शुरु भएको
आवेगले पोखरीको सतहमा भूमरी चलेझैं ,
चल्न थालेको छ –
प्रेमको यात्राभित्र
जीवनका हर मात्रा ।
एक दिन जीवनको यो अनन्तता:
या त थामिनेछ
एक पूर्णतामा ।
या त रुपान्तरित हुनेछ
भविष्यको मिथ्याभाषमा ।
एक ब्ल्याकहोलको कथा जस्तै
निरन्तर वेगिलो भएर दौडिरहेछ
प्रेमको लय :
अन्तिम श्वास चलुन्जेल
चलिरहनेछन
तिम्रा परेला ।
र चस्किरहनेछ
एक घाऊ
तिनै परेलाले खोपिएका ।