शिक्षामा सही छनोट: सफलता र असफलताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ – बसन्त पराजुलीको लेख ।
अहिले वैशाखको अन्त्यतिर एसईई (SEE) को नतिजा प्रकाशन हुँदैछ । नतिजा सार्वजनिक हुने यो घडीसँगै लाखौँ विद्यार्थी र अभिभावकहरू एउटा महत्त्वपूर्ण दोसाँधमा उभिनुहुनेछ । अब कुन विषय पढ्ने र कुन बाटो रोज्ने भन्ने अन्योल हुनु स्वाभाविकै हो । यस्तो बेला एउटा शिक्षकको नाताले मेरा प्यारा विद्यार्थी भाइबहिनीहरूलाई आफ्नै जीवनका सफलता, असफलता र केही भोगाइहरू बाँड्न चाहन्छु, जसले तपाईंलाई सही बाटो रोज्न मद्दत पुग्नेछ ।
मेरो शैक्षिक यात्रा फर्केर हेर्दा, वि.सं. २०६१ सालको एसएलसी परीक्षा मेरो लागि एउटा गर्विलो क्षण थियो, जसमा मैले त्रिभुवन बाल मावि, ढोकीबाट कक्षा प्रथम भएर उत्तीर्ण गरेको थिएँ । त्यही सफलताको जगमा अघि बढ्दै मैले वि.सं. २०७२ सालमा अर्थशास्त्रमा स्नातकोत्तर (MA) तह पूरा गरेँ । त्यसपछि मध्यबिन्दु बहुमुखी क्याम्पस, कोल्हुवा बहुमुखी क्याम्पस र मध्यवर्ती बहुमुखी क्याम्पसहरूमा अर्थशास्त्र, तथ्याङ्कशास्त्र र अनुसन्धान विधि (Research Methodology) जस्ता विषयहरू लामो समय अध्यापन गराउने अवसर पाएँ । यसै क्रममा ‘ड्रीमल्याण्ड पब्लिकेसन’ (Dreamland Publication) मार्फत शैक्षिक पुस्तकहरू लेखेर प्राज्ञिक क्षेत्रमा समेत योगदान पुर्याएँ । हाल म जनता माध्यमिक विद्यालय, सहिदनगर डण्डामा अर्थशास्त्र शिक्षकको रूपमा कार्यरत छु र यो पेसाले मलाई समाजमा जुन सम्मान दिएको छ, त्यसमा म गर्व गर्दछु ।
तर, यो सफलताको एउटा अर्को पाटो पनि छ, जसलाई म मेरो ‘रुचिगत असफलता’ को रूपमा स्वीकार गर्छु । आजको प्रविधिमैत्री समयमा आइपुग्दा मलाई कता-कता एउटा कुराले सधैं झस्काइरहन्छ । यदि मैले सुरुमै आफ्नो भित्री रुचिलाई पछ्याउँदै कम्प्युटर विज्ञान रोजेको भए, सायद मैले आजको भन्दा अझ धैरे प्रगति र नयाँ सिर्जनाहरू गर्न सक्ने थिएँ होला । अहिले एआई (AI) र आधुनिक डिजिटल उपकरणहरूप्रति मेरो जुन आकर्षण र लगाव छ, त्यसलाई हेर्दा मलाई महसुस हुन्छ— मेरो मन प्रविधिमा थियो, तर मेरो शैक्षिक यात्रा साथीहरूको लहैलहैमा लागेर अर्थशास्त्रतिर मोडियो । आफ्नो भित्री इच्छाभन्दा फरक विषय रोज्दा मानिसले सामाजिक सफलता त पाउँछ, तर आफ्नो पूर्ण क्षमताको प्रस्फुटन गर्न र वास्तविक आत्मसन्तुष्टि प्राप्त गर्न कतै न कतै चुक्दो रहेछ ।
त्यसैले, प्यारा विद्यार्थी भाइबहिनीहरूलाई म के सुझाव दिन चाहन्छु भने, विषय छनोट गर्दा सबैभन्दा पहिले आफ्नो रुचि र क्षमतालाई चिन्नुहोस् । साथीले जे पढ्यो त्यही पढ्ने वा कसैको देखासिखी गर्ने गल्ती कदापि नगर्नुहोस् । विषय छान्नुअघि आफ्नो घरायसी आर्थिक अवस्था, अभिभावकको क्षमता र आफ्नो भित्री रुचिलाई एउटै कसीमा राखेर मूल्याङ्कन गर्नुहोस् । एसईईको नतिजा एउटा सूचक मात्र हो, यसले तपाईंको सम्पूर्ण भविष्य तय गर्दैन । त्यसैले कुनै पनि निर्णय लिनुअघि आफ्ना गुरुहरू र विज्ञहरूसँग बसेर मन फुकाएर छलफल गर्नुहोस् ।
अहिलेको युग सूचना प्रविधिको हो । तपाईं जुनसुकै विषय पढ्नुहोस्, त्यसमा प्रविधिलाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा सधैं सचेत रहनुहोस् । म चाहन्छु, भोलि गएर तपाईंहरूले म जस्तै “मैले त्यो विषय पढेको भए अझ राम्रो र छिटो स्थापित हुने थिएँ” भनेर पछुतो मान्नु नपरोस् । आफ्नो ‘प्यासन’ लाई पेसा बनाउन सक्नु नै वास्तविक सफलता र सुरक्षित भविष्यको आधार हो । तपाईंहरूको शैक्षिक यात्रा सफल रहोस्, मेरो शुभकामना !
(लेखक कावासोती-८, नवलपुर र हाल जनता माध्यमिक विद्यालय, सहिदनगर डण्डामा अर्थशास्त्र शिक्षकको रूपमा कार्यरत छन् ।)










