अपूर्व असोज
छिचोली तातो उष्ण बहेको पवन सिरसिरे
बढारी अशुभ्र निशा खुलेको रश्मि मिरमिरे
राखेर पवित्र मंजिल झरेको शीत फिरफिरे
पार्दै चम्किलो अधर उदाए तारा झिलमिले
[१].
संग्लेर भेल बाढी सरीता निर्मल खलखली
नमानी पीर चिन्ता उड्छ चिडिया सलसली
उचो आशा उमिदले बढ्दै पालुवा हलहली
उपकार भाव:ले रेशा जोड्दै रेशम मलमली
[२].
श्याम निशि बढार्दै जूनका किरण टहटह
शिशु खुसीमा रम्दै मच्चिए पिंगमा चहचह
सयपत्री-फूल फक्रेर बाग बसायो मगमग
धानका बाला पुष्टिए झुले खेतमा लहलह
[३].
गोधुलीमा सप्तरंगी ईन्द्रेणीले सजिईन् धरा
देऊडाका पारखीझैं नाचे गगनमा मालचरा
जल स्थल नभ सिंगारगर्दै उदाए शुक्रतारा
नव-रात्रीको रमझममा हर्षिए दुनिया सारा
[४].
तमसमा चारै दिशामा बले रोशन दीप बत्ति
घर लिप पोतगर्न गृहिणी पीर नमान्ने कत्ति
चर्मप्रिय तापमा ओर्लिए प्रज्वल सूर्यशक्ति
स्वच्छ सफा हुन हिचकिचाउन्नन् धर्ति रत्ति
[५].
मौसम अब्बल श्रेष्ठ ऋृतु बटुक पंथीको रोज
न गर्मि जाडो न त झरी-बादल वर्षाको बोझ
बाह्र पुष्पवाटीकामा कलित कुसुमाकर ओज
बसन्त वयस्क भएको मास शरदको ‘असोज’
[६].
✍️शब्द रचना:
भुवनप्रसाद सिग्देल
दिनांक: २०७९ साल असोज ३१ गते सोमवार ।
