व्याकरण र म
म आफैँ एउटा वाक्य हुँ,
जन्मसँगै सुरु भएको,
अझै पूर्णविराममा (।) नपुगेको ।
बाल्यकालमा हर्षका विस्मयादिबोधक (!) धेरै थिए,
प्रश्नवाचक (?) थोरै ।
उमेर बढ्दै जाँदा हरेक घुम्तीहरूले सोध्यो,
“किन ?” “कसरी ?” “अब कहाँ ?”
कतिपय सपना अल्पविराम (,) बने,
रोकिए, तर सकिएनन् ।
कतिपय सम्बन्ध अर्धविराम (;) जस्ता रहे,
न छुट्टै अन्त्य, न पूर्ण निरन्तरता ।
कसैका शब्द उद्धरणचिन्ह (” “) भित्र बसे,
आज पनि मनले जस्ताको तस्तै दोहोर्याउँछ ।
मनका केही पीडा कोष्ठक ( ) भित्र राखेको छु,
किनकि सबै कुरा सबैलाई भन्न मिल्दैन ।
भविष्यतर्फ हेर्दा मेरा आशाहरू त्रिबिन्दु (…) जस्तै छन्,
अझै धेरै बाँकी, अधुरा र अपुरा ।
जीवनले कहिले योजक (-) बनेर मानिसहरू जोडिदियो,
कहिले ड्यास (—) बनेर अचानक बाटो मोडिदियो ।
व्याकरणले सिकायो कर्ता बिना वाक्य अपूरो हुन्छ ।
जीवनले सिकायो आत्मविश्वास बिना मानिस पनि अपूरो हुन्छ ।
कर्मले वाक्यलाई अर्थ दिन्छ,
कर्मले नै जीवनलाई परिचय दिन्छ ।
क्रियाले गति दिन्छ, संघर्षले जीवनयात्रालाई दिशा दिन्छ ।
नामले चिनायो म को हुँ,
तर कर्मले चिनायो म कस्तो हुँ ।
सर्वनामले ‘म’ लाई कहिले ‘हामी’ बनायो,
कहिले ‘तिमी’ बाट ‘तपाईं’ सिकायो ।
सम्बोधनले आदर सिकायो, र आदरले सम्बन्धलाई दीर्घायु बनायो ।
विशेषणले मानिसको रूपभन्दा उसको स्वभाव सुन्दर हुनुपर्छ भन्यो ।
विशेष्य त जन्मसँगै पाइयो,
तर असल विशेषण आफ्नो व्यवहारले कमाउने भन्ने सिकायो ।
क्रियाविशेषणले सम्झायो,
बिस्तारै हिँड्दा पनि गन्तव्य भेटिन्छ ।
छिटो पुग्नु मात्र सफलता होइन ।
लिङ्गले भिन्नता देखायो,
मानवताले समानता सिकायो ।
वचनले ‘म’ बाट ‘हामी’ बन्ने सबैभन्दा ठूलो व्याकरण पढायो ।
पुरुषले पहिलो, दोस्रो र तेस्रो चिनायो,
तर जीवनले सबैको कथा आफ्नो ठाउँमा पहिलो हुन्छ भन्ने सिकायो ।
कालले भूतका स्मृतिहरू दियो,
वर्तमानको जिम्मेवारी दियो
र भविष्यको आशाहरू रोपिदियो ।
विभक्तिले सम्बन्ध चिनायो,
को, लाई, ले, मा, बाट, सँग… कसैसँग जोडिएर मात्रै अर्थ रहने,
कसैबाट सिक्न, कसैका लागि बाँच्न, कसैको हुन,
यिनै विभक्तिहरूले जीवनलाई सम्बन्धको व्याकरण सिकायो ।
करण कारकले भन्यो,
साधन सही भए गन्तव्य सजिलो हुन्छ ।
अधिकरणले आफ्नो स्थान खोज्न सिकायो,
सम्बन्धले आफ्नो मान्छे चिनायो ।
उपसर्गले सानो सुरुवातलाई ठूलो अर्थ दियो ।
प्रत्ययले अनुभव जोडिँदै जाँदा व्यक्तित्व परिपक्व बन्दै जाने सिकायो ।
सन्धिले टुटेका ध्वनिहरू जोडिदियो,
जीवनमा टुटेका मनहरू सप्रेम स्वरले जोड्न सिकायो ।
समासले लामो कथालाई एउटै अर्थपूर्ण शब्दमा बाँध्यो,
जीवनले हजारौँ अनुभवलाई एउटै मुस्कानमा समेटिदियो ।
शब्द अशुद्ध हुँदा अर्थ बिग्रन्छ,
व्यवहार अशुद्ध हुँदा सम्बन्ध बिग्रन्छ ।
वाक्य मिल्दा विचार सुन्दर बन्छ,
जीवन मिल्दा संसार सुन्दर देखिन्छ ।
त्यसैले म हरेक दिन
बग्रेल्ती बिग्रिएका मेरो जीवनको व्याकरण सच्याउँदै छु ।
गल्तीहरू मेटाउँदै, नयाँ अर्थहरू थप्दै, नयाँ वाक्यहरू रच्दैछु ।
अझै अन्त्य आएको छैन,
पूर्णविराम टाढा छ या नजिक त्यो पनि थाहा छैन ।
यति थाहा छ,
आजका सबै प्रश्नवाचकहरू एक दिन अनुभवले भरिएका पूर्णविराम बन्नेछन् ।
र त्यस दिन, मेरो जीवनको सबैभन्दा सुन्दर वाक्य सायद हुनेछ;
“व्याकरण मिलेको मात्र होइन, अर्थपूर्ण, मानवीय र प्रेरणादायी पनि हुनेछ— मेरो जीवन ।”
२०८३-०४-०९
सानोठिमी, भक्तपुर
✍️लेखक : राजन पाण्डे ♦ कावासोती,नवलपुर ।










