खुट्टा भए त जुत्ता पाईन्छ खोजे जस्तो – उमेश चन्द

तीन गजलहरु

हुनलाई त मेरो पनि आमा हुनुहुन्छ
तर फूल मालासँग भित्तामा हुनुहुन्छ ।

मलाई सधैं पैतालामा छुन मन लाग्छ
बिडम्वना तपाईं त शिलामा हुनुहुन्छ ।

मैले नयन उठाएर आसमानमा खोजे
बिर्सिएछु हजुर मेरो आत्मामा हुनुहुन्छ ।

हरेक रात अचेल मेरा स्वप्न बिग्रिन्छन्
कि तपाई अझैपनि खतरामा हुनुहुन्छ ।

नसोध तिम्रो आमा कहाँ हुनुहुन्छ भनी
उहाँ मेरो मुटुमा यी आखाँमा हुनुहुन्छ ।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

दिवाना भइ तँ सामुन्ने न आईदे न ए दिल
यो मनको मेघ जतिलाई हटाईदे न ए दिल ।

कसैको साथ चाहन्छू म उड्नु छैन खुल्ला
चरा जस्तो भएँ चङ्गा बनाईदे न ए दिल ।

अगाडी जाउँ खतरा छ घटाउनु नै छ बेग
मलाई रोक्न यहि खुट्टा समाईदे न ए दिल ।

कुरा धेरै नि सोच्दैन न हुन्छन् पीर ज्यादा
मगजलाई यी तेरा गुण सिकाईदे न ए दिल ।

मलाई ती अधरको मीठो चुम्बन सुम्पिदेऊ
म बिस्तारै बिडी बन्छु जलाईदे न ए दिल ।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

हारे स्विकार्छु हार हार्दा अचम्म हुन्न
“सक्दैन जित्न” मैले सोचेर कम म हुन्न ।

आगो पिएर बस्छु के ताप दिन्छु भन्छौ?
लोहा हुँ एक मजबुत छिट्टै गरम म हुन्न ।

खुट्टा भए त जुत्ता पाईन्छ खोजे जस्तो
छोड्यौ तिमीले छोड्दा बुझ्नु खतम म हुन्न ।

पीडा सहेर बस्छु घनले पिटे नि पिट्नुस
अौजार बन्छु तीखो भो भो कलम म हुन्न ।

ढाक्ला बरू यो धर्ती खाली नराखी ठाउँ
भुइँको धुलो कदापि आकाश सम्म हुन्न ।।

✍️उमेश चन्द,रुकुम
उमेश चन्द गजल र मुक्तक विधामा बिशेष कलम चलाउने लेखकका रुपमा आफुलाई परिचित गराउनु भएका साहित्यकार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search