बालेन सरकारमा बालमनोवृत्ति देखियो : राष्ट्रिय जनमोर्चा कतारका अध्यक्ष रामप्रसाद पराजुली

सुशासनको नाराले मात्रै सरकारको मूल्याङ्कन हुँदैन, व्यवहारमा लोकतान्त्रिक संस्कार र जिम्मेवारी देखिनुपर्ने रामप्रसद पराजुलीको भनाइ ।

कतार । राष्ट्रिय जनमोर्चा पार्टीको वैचारिक संगठनका रूपमा रहेको राष्ट्रिय जनमोर्चा पार्टी कतारका अध्यक्षले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारमा बालमनोवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
उनले सरकारको व्यवहार र निर्णय प्रक्रियामा परिपक्वता, जिम्मेवारी तथा लोकतान्त्रिक संस्कारको अभाव देखिएको उल्लेख गर्दै सुशासनको नाममा कुशासनलाई प्रश्रय दिने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।
सरकारको मुख्य जिम्मेवारी नागरिकको अपेक्षा पूरा गर्नु, विधिको शासन कायम गर्नु र राज्यका निकायलाई जवाफदेही बनाउनु भएको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
उनका अनुसार सुशासन भनेको भ्रष्टाचार नियन्त्रण गर्ने नारा मात्रै होइन । पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, नागरिक स्वतन्त्रता र कानुनी शासनको प्रभावकारी कार्यान्वयन नै सुशासनका आधार हुन् । तर, सरकारको व्यवहारमा यी आधार कमजोर देखिएमा सुशासनको दाबी अर्थहीन बन्ने उनको भनाइ छ ।
सुशासनको नाराले मात्रै कुशासन ढाकिँदैन
लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना हुनु स्वाभाविक प्रक्रिया हो । आलोचनालाई कमजोरीका रूपमा लिनुभन्दा त्यसबाट सुधारको बाटो खोज्नु जिम्मेवार सरकारको दायित्व हो ।
तर, आलोचनाप्रति असहिष्णु व्यवहार देखाउने, प्रतिपक्षका आवाजलाई बेवास्ता गर्ने र सार्वजनिक प्रश्नको जवाफ दिनबाट पन्छिने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने उनको तर्क छ ।
सरकारले सुशासनको प्रतिबद्धता व्यवहारमा उतार्न नसके जनतामा निराशा बढ्ने र राज्यप्रतिको विश्वास कमजोर हुने उनले बताएका छन् ।
सुशासनका लागि परिपक्व राजनीतिक संस्कार आवश्यक
राजनीतिक नेतृत्वमा परिपक्वता, धैर्य र जिम्मेवारी आवश्यक हुने उल्लेख गर्दै उनले सरकार सञ्चालन बालहठका आधारमा नभई संविधान, कानुन र नागरिकको हितलाई केन्द्रमा राखेर हुनुपर्ने बताएका छन् ।
उनका अनुसार सरकारको सफलता प्रचार, नाराबाजी र विपक्षीमाथिको आरोपमा होइन, जनताले अनुभूत गर्ने परिवर्तनमा निर्भर हुन्छ ।
सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै सुधारको बाटो रोज्नुपर्ने, सार्वजनिक प्रश्नको जवाफ दिनुपर्ने र राज्यका सबै निकायलाई कानुनी दायराभित्र राख्नुपर्ने उनको धारणा छ ।
लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरू र लोकतान्त्रिक मूल्य स्थायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकारलाई जिम्मेवार र परिपक्व कार्यशैली अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search