नयाँ शैक्षिकसत्र सुरु,विद्यार्थीको किताब छाप्ने कागज सकियो, ४५ लाख पाठ्यपुस्तक छाप्न बाँकी

आगामी जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। तर, स्थानीय चुनावको मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्रले कागजको अभाव भएको भन्दै ४५ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनाएको छ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र आगामी जेठ १ गतेबाटै पठनपाठन सुरु गर्ने सरकारी तयारी छ। नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन केही साता मात्र बाँकी रहँदा पाठ्यपुस्तकको अभाव हुने देखिएको छ। जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य नेपालखबरसँग भन्छन्, ‘यस वर्षका लागि १ करोड ९० लाख पुस्तक छाप्नुपर्ने योजना थियो, जसमध्ये करिब ४५ लाख थान पुस्तक छाप्न बाँकी छ।’

देशभरमा एक करोड ९८ लाख थान पुस्तक आवश्यक हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक थियो। सोहीबमोजिम जनक शिक्षालाई पुस्तक छपाइको जिम्मा दिइएको थियो।

पाठ्यपुस्तक समयमै नछापिने समस्या नौलो होइन। यसवर्ष चुनावको बाहनामा यो समस्या दोहोरिने देखिएको छ। विगतमा कक्षा १ देखि ५ सम्म पाठ्यपुस्तक छपाइ निजी क्षेत्रलाई दिने गरिएको थियो। तर, यो वर्ष सरकारले सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षामाथि केन्द्रित गरेको छ।

५० प्रतिशत कागज अभाव
पाठ्यपुस्तक छपाइका लागि कागज अभाव समस्याको रुपमा खडा भएको छ। कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको जनक शिक्षाले कागज अभाव रहेको बताएको छ।
‘पर्याप्त कागजको अभावका कारण निरन्तर काम हुन सकिरहेको छैन,’ सूचना अधिकारी आचार्यले भने, ‘कागजको टेन्डर पाएको कम्पनीले पर्याप्त कागज उपलब्ध नगराएको हुँदा समस्या भएको छ।’

जनक शिक्षाले विद्यालय तहको पुस्तक छपाइका लागि छ हजार मेट्रिकटन कागजको टेन्डर गरेको थियो। टेन्डरअनुसार विभिन्न समयमा गरी गत चैत १० गतेसम्म सबै कागज आइसक्नुपर्ने थियो। तर, अहिलेसम्म जम्मा दुई हजार मेट्रिक टनको हाराहारी मात्र कागज आएको आचार्य बताउँछन्।

‘मतपत्र छपाइको कामले भन्दा कागजको अभावले बढि प्रभाव पारेको छ’, उनले भने, ‘अझै ५० प्रतिशत कागजको आवश्यकता छ।’

आचार्यका अनुसार मतपत्र छपाइ र पाठ्यपुस्तक छपाइका लागि २ सिफ्टमा कर्मचारी खटिएका छन्। यसरी विद्यालय तहका पाठ्यपुस्तक छपाइमा खासै प्रभाव परेको छैन। उनका अनुसार मतपत्र छपाइले भन्दा बढि प्रभाव कागजको अभावको कारणले परेको छ।

‘स्थानीय तहको निर्वाचनका लागि चाहिने मतपत्र छाप्ने जिम्मा पनि जनक शिक्षा केन्द्रले पाएको छ। सोहीअनुसार मतपत्र छपाइको कामलाई पनि निरन्तरता दिएका छौँ’, आचार्यले भने।

भर्ना अभियान सक्ने समयसम्म विद्यालयमा पाठ्यपुस्तक पुर्याउनेगरी काम भइरहेको आचार्यको भनाइ छ।

‘नयाँ शैक्षिक सत्रका लागि वैशाखभित्र किताब छापिसक्ने गरी हामी लागेका छौँ। वैशाखभर किताब छपाइको काम हुन्छ, जेठको पहिलो साता वितरण गर्छौँ,’ उनी भन्छन्, ‘अहिले मतपत्रको छपाइको काम पनि गरिरहेका छौँ, हामी समयमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने प्रयासमा छौँ।’

आचार्यका अनुसार पाठ्यपुस्तक छाप्ने र मतपत्र छाप्ने मेसिन फरक छन्। कर्मचारीको व्यवस्थापन पनि त्यसरी नै गरिएको छ।

दुई सिफ्टमा काम गरिरहेका करिब ५ सय जनशक्तिमध्ये एक सिफ्टलाई मतपत्र छपाइमा खटाइएको छ,’ आचार्यले नेपालखबरसँग भने, ‘एक सिफ्टलाई चाहिँ बिहानदेखि बेलुका (ओभरटाइम) सम्मै काम गराएका छौँ, त्यसैले खासै ठूलो असर गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search