रास्वपाका सभापती लामिछानेलाई पत्रकार ध्रुवजंग थापाको खुलापत्र

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । पोखरामा मकैको खोया लाई संकेत गर्दै पत्रकार ध्रुवजंग थापाले रास्वपाका सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन । पुराना दलहरुले जुत्ताको झटारो खाएको सजिलै पचेको समाजमा नया आसा राखेका पार्टिका सभापति माथी नै मकैको खोया प्रहारमाथी ठुला मिडिया हवि रहनु सजकताको सुझाव रहेको बताएका छन । उनी लेख्छन

” रवि दाइ, नमस्कार !
पोखरामा तपाईंमाथि जे भयो नराम्रो भयो, त्यसमा म खेद प्रकट गर्छु, भर्त्सना गर्छु, यसको निन्दा गर्छु ।
त्यो घटना नियोजित हो वा कुनै सनकीको सनक ! त्यो अनुसन्धानले देखाउने नै छ । तर, दाइ यति छिटो पुराना राजनीतिक दलको विकल्पमा आइरहेका नयाँ अनुहारमाथि नै जनताको आक्रोश देखिनु शुभ संकेत पक्कै होइन ।

पोखराको ‘खोया काण्ड’ले प्रष्ट चित्र देखाउँछ-सिंगो देश र नागरिक बेचैनीमा छन् । हतास र उकुसमुकुसमा छन् । पोखराको घटना तपाईं र तपाईंको दलले चालेको कदम, खेलेको भूमिका र देखाएको कार्य शैलीप्रति जनता खुसी छैनन् भन्ने जनाउ घण्टी पनि हो । जनचाहना पूरा नभए जनआक्रोशका खोया अझै बर्सन्छन् ।
रवि दाइ !
यो खुलापत्र म आफू भाइरल हुन वा चर्चा कमाउन किमार्थ लेखिराखेको छैन । बस्, मेरो एउटै स्वार्थ छ, तपाईं र तपाईंका नेता कार्यकर्ताका साथै आम नेपालीले भ्रम र सत्यबीचको भेद छुट्याउन सकून् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाका सुरुआती दिन सम्झन्छु । जतिबेला तपाईंका आफ्नै नजिकका साथीदेखि आफन्तसम्म पनि खुलेर तपाईंको पक्षमा लाग्न अप्ठेरो मान्थे । तर, त्यहीबेला थियो, तपाईंमा केही हुट्हुटी देखेर त्यही समयदेखि नै तपाईंसँगै काँधमा काँध मिलाएर म पनि हिंडेको हुँ ।
त्यतिबेला अहिले जस्तो तपाईंका अघिपछि छपक्क छोपिने गरी कुनै मिडिया थिएनन्, कुनै युट्युबर थिएनन् । म तपाईंको अघिपछि क्यामेरा तेर्स्याउँदै हिंडें । नवलपुरदेखि बागलुङ कहाँ-कहाँसम्मको यात्रा गरिनँ ?

कार्यक्रममा सँगै हिंड्दै गर्दा तपाईंले घण्टौं उभिएर भाषण गर्ने त्यो ऊर्जा, तराईको टन्टलापुर घाममा घण्टौं उभिएको त्यो खटाई । एकैदिन जिल्लाजिल्ला पार गरेर गरेका आमसभा । र, पनि साँझमा अनुहार उस्तै जाज्वल्यता ! न थकान न आलस्यता, न पीर न चिन्ता !
त्यो आत्मविश्वास र त्यो चम्केको अनुहार देखेर मनमनै सोच्थें- ‘सायद भगवान राम, कृष्ण यस्तै थिए होलान् ! अब यो देशलाई पार लगाउने जनताको मुहारमा खुसी ल्याउने मसीहा, यही मान्छे हो ।’
पार्टी खोलेको करिब ६ महिनामै निर्वाचन पनि भयो । यति कम समयमा परिणाम पनि ऐतिहासिक नै थियो । यस्तो उपलब्धि अब इतिहासमा सायदै दोहोरिएला ! जे भयो राम्रै भएको थियो त्यहाँसम्म ।

रवि दाइ !
त्यसपछिका घटना भने न तपाईंले भने जस्ता छन्, न हामीले सोचे जस्तो । यो तपाइर्ंले नस्वीकार्ने र मैले स्वीकार्ने विषय होइन, यो बिम्बित हुने, झल्किने विषय हो । जनताले अनुभूत गर्ने कुरा हो ।
जब-जब निर्वाचनको परिणाम आउन थाल्यो, तपाईंको चाल विस्तारै फेरिन थाल्यो । समानुपातिक सांसद बनाउने शृंखलादेखि जब सरकार गठनमा दलहरूबीच तालमेल हुन लाग्यो तपाईंको स्वभाव, बानीव्यहोरा बदलिंदै गयो ।

टोलटोलमा संगठन होइन, विकासका लागि खटिने कृषि स्वयंसेवक बनाऔं । चोकचोकमा आमसभा होइन, आम जनश्रमदान आयोजना गरौं । ‘मिसन-८४’ होइन, मिसन एन्टीकरप्सन, मिसन श्रमदान, मिसन स्वरोजगार, मिसन नेपाल र्फक, मिसन नेपालमै केही गरौं, मिसन गरिबी निवारण राखौं
झन् जब तपाईंले गृह तथा उपप्रधानमन्त्रीको शपथ खाएर शीतलनिवासबाट स्कर्टिङ सहित सिंहदरबार छिर्नुभयो- त्यहीबेला नै हो फरक पात्र देख्न थालेको पनि ।

रवि दाइ ! तपाईंलाई बधाई दिन म जीवनमा पहिलोपल्ट सिंहदरबार छिरेको थिएँ । ‘मेरो रवि दाइ, हाम्रो रवि दाइ, यो देशको रवि दाइ’ लाई गृह मन्त्रालयमा देख्दा म आफूलाई नै गृहमन्त्री भएजस्तो महसुस भएको थियो ।
सायद म जस्तै तपाईंमाथि अविच्छिन्न विश्वास भएका लाखौंलाई पनि त्यस्तै महसुस भएको हुनुपर्छ । तर, जब गृह मन्त्रालय छिरें, तपाईंको क्याबिन पुगें । पार्टी स्थापनाका सुरुआतका दिनमा हिंडेको रवि जस्तो तपाईंलाई देख्नै सकिनँ । कस्तो घमन्डी ? कस्तो निर्दयी ? कस्तो सनकी ? कस्तो… ? कस्तो…?
हुन त त्यतिबेला तपाईं ठूलो मान्छे भइसक्नुभएको थियो । यो देश चलाउने गृहमन्त्री । मन्त्रालयमा हुँदा हजारौं मान्छे आउँछन् । ‘यो यो काम गर्, त्यो त्यो काम गर्’ भन्लान् ! हुन त तपाईंमा ठूलो जिम्मेवारी थियो । आफैंलाई सम्झाउँदै फटाफट फोटो खिचेर त्यहाँबाट निस्किएँ ।

तपाईं गृहमन्त्री हुँदा धेरैले आशा गरेका थिए- अब त केही हुन्छ कि ? सुरुकै दिन बहुचर्चित ‘निर्मला फाइल’ खोल्छु भन्नुभयो । म मनमनै डराएँ र सँगसँगै खुसी पनि । डर यो कारणले लाग्यो कि दाइले सुरुमै यस्तो खतरा नमोलेको भए हुने ! खुसी यस कारण थिएँ कि अब दाइले फाइल खोल्छ र अपराधीलाई जेल कोच्छ । निर्मलाले न्याय पाउँछिन् ।
तर, तपाईंको कार्यकालमा निर्मला फाइल ‘खोले जस्तो’ मात्रै हुन पुग्यो । योजनाले मूर्तरूप पाउन नसक्दा केवल ‘स्टन्ट’ मात्रै बन्न पुग्यो ।

तपाईंको कार्यकालमा केही नभएका भने पक्कै होइनन् । प्रहरी सरुवा, बढुवामा कुनै हस्तक्षेप गर्नुभएन, सबैलाई आफ्नै किसिमले काम गर्न दिनुभयो । अहिले पनि केही प्रहरीहरू तपाईंको त्यो अभियानको खुलेरै प्रशंसा गर्छन् ।
तर, प्रिय रवि दाइ ! जनताले राज्यसँग गरेको आशाको परिधि एकदम ठूलो छ । त्यसमाथि वैकल्पिक रूपमा यो राजनीतिको मैदानमा हाम फाल्नुभएको तपाईंमाथि अझै पनि धेरैको धेरै अपेक्षा छ ।

तपाईंबाट जनता चाहन्थे- तपाईं जनताका सामान्य काम गरिदिनुस्, पुरानै (सामान्य) जीवनशैलीमा रहनुस्, जनतासँगै रहनुस् । तर, तपाईंले जनअपेक्षा अनुसार काम देखाउन, गर्न सक्नुभएन । फेरि भन्छु- यो एक चेतनशील जनताले आफ्नो अभिभावकप्रति अनुभूत गर्ने कुरा हो । दाइ ! नेपालीमा एउटा उखान छ- जसरी आयो त्यसरी गयो । यो उखानलाई गलत सावित गर्नुपर्छ । अरूलाई औंला उठाइरहेका हामी स्वयं पनि सच्चिनु जरूरी छ । केही सुधार्न आवश्यक छ ।

यो देश भाषणले बन्दैन दाइ, बन्ने भए २००७ सालदेखि २०४६ हुँदै २०६२/६३ सम्म आइपुग्दा धेरै थरीका धेरै थरी भाषण सुनिसक्यौं । कहिले बीपी, कहिले मदन भण्डारी, कहिले देउवा, प्रचण्ड, बाबुराम हुँदै अहिले गगन, विश्वप्रकाशहरूको पनि भाषण नै सुन्दैछौं । फरक यत्ति हो, कोही भाषण हाम्रा बाजे पुस्ताले सुने, कुनै बा पुस्ता र कुनै हाम्रो पुस्ताले ।

भाषणले देश बन्ने भए कोही पनि हातका दशनंग्रा खियाउँदै काम गर्नुपर्थेन । हर-कोही चोकमा उभिंदै घोक्रो सुनिने गरी भाषण गथ्र्यो । दाइ अब चर्को भाषण गर्दै ठाउँठाउँमा भव्य पार्टी कार्यालय उद्घाटन होइन, दुर्गम गाउँमा विद्यालय उद्घाटन गरौं ।
टोलटोलमा संगठन होइन, विकासका लागि खटिने कृषि स्वयंसेवक बनाऔं । चोकचोकमा आमसभा होइन, आम जनश्रमदान आयोजना गरौं । ‘मिसन-८४’ होइन, मिसन एन्टीकरप्सन, मिसन श्रमदान, मिसन स्वरोजगार, मिसन नेपाल र्फक, मिसन नेपालमै केही गरौं, मिसन गरिबी निवारण राखौं । महँगो गाडी, भड्किलो खर्च होइन, सादगी जनजीवनका साथै जनताको करले खाएको तलब भत्ता जनतालाई नै फिर्ता गरौं ।

दाइ अझै केही बिगि्रएको छैन । हामीले एकपल्ट आत्मसमीक्षा गर्नु आवश्यक छ । जुन शैली र तरिकाले हाल राष्ट्रिय स्वतन्त्र पार्टी चलिरहेको छ यसमा केही कार्यकर्ता र तपाईंका आसेपासे खुसी होलान् वा खुसी भएको जस्तो देखिएलान् । तर, तीबाहेक कोही खुसी छैनन्, रवि दाइ तपाईं र तपाईंको पार्टीलाई जनतालाई निराश बनाउने अधिकार छैन । असफल बनाउने छुट छैन । तपाईं र तपाईंको पार्टी असफल हँदै गर्दा सिंगो युवा असफल हुनेछ, सिंगो देशमा फेरि निराशा छाउने छ । अब पुराना पार्टी र तिनका कार्यकर्तामाथि प्रश्न उठाएर मात्रै होइन, यसको जिम्मा तपाईं र तपाईंको पार्टीले लिनुपर्नेछ । आज भगवान् मान्नेहरूले भोलि दानव मान्न लामो समय लाग्दैन । आज ‘गुडलक रवि दाइ’ भन्नेहरूले भोलि ‘गुड बाई’ लेख्न समय लाग्दैन ।

त्यसैले अरूको अनुहारमा फोहोर देख्नेले पहिला आफ्नो आँखाको कसिंगर फालौं । अरूलाई सुझाव र निर्देशन दिन एकदम सजिलो छ । तर, आफैं सच्चिऔं/सुध्रिऔं भन्न एकदम कठिन ।
दाइ आजसम्म जे भयो त्यसलाई सच्याउने मौका अझै छ । केन्द्रीय पदाधिकारी अझै फेरबदल गर्न सकिन्छ । नजिकका साथीभाइलाई तपाईंकै टिममा राख्नुस् तर, पार्टीको टिममा होइन ।
दाइ जनता सचेत भइसकेका छन् । मिठा सपना बाँडेर मात्रै पुग्दैन, उनीहरू थाकिसके । उनीहरू अब परिणाम चाहन्छन् । देश बन्ने कामले नै हो । विकास गर्न २०८४ सम्म कुर्नुपर्छ भन्ने होइन । गन्तव्य पुग्ने आँट भएको मान्छे एक्लै भए पनि हिंड्छ दाइ, सहयात्री पर्खेर बस्दैन ।

तपाईंसँग अहिले लाखौं लाख जनता छन् । संसद्मा पनि २१ सांसद छन्, विज्ञहरू र शुभचिन्तकहरू छन् । यो एक अवसरलाई भरपुर प्रयोग गरेर इतिहासमा नाम लेखाउन नचुक्नूस् दाइ ।
तपाईं त अहिले धेरै व्यस्त हुनुहुन्छ । भेटेर यति लामो संवाद गर्ने समयसन्दर्भ नमिल्न सक्छ, त्यसैले यो खुल्लापत्र लेख्दैछु । गल्तीमा ढाकछोप गर्नेभन्दा सच्चिन सुझाव सल्लाह दिने तपाईंका आफ्ना हुन् ।
तपाईंको शुभचिन्तक
ध्रुव जंग थापा
हाल : पोखरा “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...