कुशल मल्लको शतकप्रेरित नेपालले एसीसी प्रिमियर कपको दोस्रो खेलमा ओमानलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।
ओमानले आक्रामक शुरूआत गरेको थियो। तर, पाँचौँ ओभरको तेस्रो बलमा ओपनर जतिन्दर सिंह १२ बलमा २ चौका प्रहार गर्दै १५ रनमा ललितनारायण राजवंशीको बलमा बोल्ड भए।
उनले अर्का ओपनर कश्यप प्रजापतीसँग ३२ रनको साझेदारी गरेका थिए। १३औँ ओभरको तेस्रो र चौथो बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लगातार विकेट लिए। उनले ३३ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाएर खेलिरहेका अदिल अहमद शफिकलाई एलबीडब्लु धरापमा पारे। लगत्तै ओमानका कप्तान जिशान मकसूद तीन बल खेल्दै डकआउट भए।
त्यसपछि कश्यप पनि ३५ बलमा ३ चौका प्रहार गर्दै २५ रनमा सन्दीपबाटै एलबीब्ल्यू धरापमा परे। उनी १५औँ ओभरको पहिलो बलमा आउट भएका थिए।
४–५५ को स्थितिमा रहेको बेला ओमानको इनिङ्स मोहम्मद नादिम र आयन खानले उकासेका थिए। आयन २३औँ ओभरको पाँचौँ बलमा क्याच आउट भए। उनले २८ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाएका थिए।
आयन र नादिमले छैटौँ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए। सातौँ नम्बरमा आएका सन्दीप गौडले ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रन बनाए।
उनी ४२औँ ओभरको पहिलो बलमा सोमपालबाट क्याच आउट भए। अत्यसपछि नदिम पनि ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेर ६५ रनमा आउट भए।
नेपालका करण केसी र सन्दीप लामिछानेले ३/३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ र ललितनारायण राजवंशीले १ विकेट लिए।