लागुऔषधको नशामा १० जना मिलेर अर्जुन दासको हत्या

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासलाई मोवाइल चोरेको निहुँमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मध्येका ४ जनालाई महानगरीय अपराध महाशाखाले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले यसअघि जानकी गाउँपालिका घर भएका कमल साउदलाई पक्राउ गरेको थियो ।

कैलाली जिल्ला अदालतको आदेशले साउद पुर्पक्षका लागि थुनामा छन् । महाशाखाले जानकी गाउँपालिका– ९ घर भएका १९ वर्षका मनोज भण्डारी, १९ वर्षका सुमित साउद, बमबहादुर बोहोरा उर्फ बमे, र रोनी परियारउर्फ दिलिप दासलाई पक्रेर सार्वजनिक गरेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । २०७८ पुस ३ मा टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा अर्जुनको शव भेटिएको थियो ।

हत्याभन्दा ३ दिनअघि कमल साउदको मोवाइल हरायो । मोवाइल हराउनुमा कमलले १९ वर्षका सुमित साउदलाई शंका गरे । ‘चोर’ आरोप लगाएर कुटे । सुमितलाई पिटेको रिसमा मनोज भण्डारी र बमबहादुर बोहोराले कमलको २५ हजार बराबरको नाइट्रोभेट–१० चोरेर जंगलमा लुकाए ।

मृतक अर्जुन दासले मोवाइल चोरेर हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाए । त्यसपछि सो मोवाइल कमल साउदलाई फिर्ता गरेको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

मोवाइल चोरी र सुमितमाथि भएको कुटपिटको मुख्य दोषी सबैले अर्जुन दासलाई नै किटान गरेर उनलाई कुट्ने योजना बनाए । प्रहरीका अनुसार मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल बिक र करण दर्नाल मिलेर अर्जुनलाई कुट्ने योजना बनाएका थिए ।

पुस २ मा साँझ ६ बजे अर्जुनसहित ११ जना सामुदायिक वनमा लागुऔषध सेवन गर्नका लागि जम्मा हुन्छन् । सबैले लागु औषध खान्छन् । १० जना मिलेर अर्जुनलाई दोषी देखाई कुट्छन् र साजको रुखमा हातखुट्टा बाँधेर राख्छन् । करिब ४–५ घण्टा रुखमा बाँधेपछि हत्या योजनाअनुसार सुशील मयालले खुकुरी ल्याउँछन् ।

हातखुट्टा बाँधेर खुकुरी प्रयोग गरेर घाँटी छिनालेपछि फेरि उनीहरुले लागुऔषध सेवन गरेको अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले बताए । रातभर घटनास्थलमा नै बसेर पुस ३ मा ६ जना भारतको दिल्लीतिर भागेका थिए । हत्यामा संलग्न मध्येका कनकलाल विक, करण दर्नाल, सुशील मयाल र सुशीलका साथी (नाम नखुलेका) कैलालीमै बसेका थिए । महाशाखाले भारतबाट काम खोज्न रुपन्देही आएका बेला ४ जनालाई बेलहियाबाट पक्राउ गरिएको जानकारी दिएको छ । हत्यामा संलग्न ५ जना आरोपी अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...