प्रिय धन , नवलपुर
२४ चैत्र २०८२ , मंगलबार ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डण्डा–चोरमारा क्षेत्रमा ‘मध्यविन्दु’ स्तम्भ निर्माणका लागि नापजाँच तथा नक्साङ्कन कार्य सुरु गरिएको छ ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीसहित प्राविधिक टोली र निर्माण पक्षका कर्मचारीहरू स्थलमै पुगेर आवश्यक प्राविधिक तयारीमा जुट्नुभएको छ । स्तम्भ निर्माणको प्रारम्भिक चरणका रूपमा भू-नापजाँच तथा नक्सा तयारी कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

निर्माण हुन लागेको ‘मध्यविन्दु’ स्तम्भ पूर्व–पश्चिम राजमार्गको कुल १०२४ किलोमिटर दूरीको ठीक मध्यभाग अर्थात् ५१२ किलोमिटर खण्डमा पर्नेछ । यो स्थान नवलपरासी (पूर्व) जिल्लाको मध्यविन्दु नगरपालिका क्षेत्रभित्र पर्छ ।
हुन त महेन्द्र राजमार्ग पूर्वपश्चिमको कुल लम्बाइ करिब १०२७ दशमलव ६७ किलोमिटर अर्थात् ६३८ दशमलव ५६ माइल भनिएको छ। झापाको काँकडभिट्टादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म फैलिएको यो राजमार्ग नेपालको सबैभन्दा लामो र प्रमुख सडक मार्ग हो । तर पनि पूर्व पश्चिमको आधारमा ५१२ किलोमिटरको आधारमा मध्यबिन्दु स्तम्भ निर्माण गरिएको हो ।
विसं २०१९ साल वैशाख १ गते नवलपरासीको गैंडाकोटबाट यो पूर्व पश्चिम राजमार्गको शिलान्यास भएको थियो । यसले २१ वटा तराईका जिल्लाहरूलाई समेट्छ । र तराईका मुख्य मेरुदण्डको रुपमा काम समेत गर्छ ।
उक्त स्तम्भ निर्माणपछि सो क्षेत्र यात्रु तथा पर्यटकका लागि आकर्षक विश्रामस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको छ । साथै, पूर्व–पश्चिम राजमार्गको भौगोलिक मध्यबिन्दु पहिचान गर्ने महत्वपूर्ण संरचनाका रूपमा यसले विशेष महत्व राख्ने विश्वास गरिएको छ ।










