वीरगंज । वीरगंज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगंज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँ मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।











