प्रिय धन, नवलपुर ।
आइतबार साउन ११ गते अन्दाजी साढे ३ बजेतिर पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ स्थित देवी गैरा सामुदायिक वन नजिकै सडक छेउमा सालनाल सहितको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको छ ।
स्थानीय व्यक्तिहरूको माध्यमबाट सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा खटिएको थियो। नवजात शिशुलाई सेतो तन्नामा पोको पारेर सडक छेउमा फालिएको अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी टोलीले शिशुको शवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको र घटनाबारे अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।
सडक किनारमै फालिएको शिशु मृत फेला परेपछि स्थानीयवासी स्तब्ध भएका छन् । कसले र किन यस्तो जघन्य कार्य गर्यो भन्ने विषयमा यतिबेला सर्वत्र चासो र आक्रोश व्यक्त भइरहेको छ । प्रहरी प्रशासनले घटनाको अनुसन्धानमा सहयोग पुर्याउन स्थानीयलाई अनुरोध गरेको छ ।