पाठकलाई भ्रमित पारी रवि विरुद्ध संगठित घेराबन्दि बनाउदै मिडिया

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एउटा सहकारीको विवादमा मुछेर तेजोवध गर्ने नयाँ प्रयास सुरु भएको छ । पाठकलाई भ्रमित पार्नेगरी केही सञ्चारमाध्यमले संगठित तवरबाटै उनीविरुद्ध प्रहार केन्द्रित गरेका छन् ।

रवि लक्षित पछिल्लो विवाद खासमा ‘खोया काण्ड’ बाट उब्जेको हो । कान्तिपुरले दुई दिनपछि झूटो समाचार लेखेको स्वीकार्दै क्षमायाचना गर्‍यो । तर, यसबाट आफ्नो प्रतिष्ठामा भएको क्षतिलाई न्यूनीकरण गर्ने ध्येयले रविमाथि निशाना साँध्न सुरु गर्‍यो । देशको नम्बर एक सञ्चारमाध्यम दाबी गर्नेले यसरी एक जना अमूक नेतासँग व्यक्तिगत प्रतिशोध लिन खोज्नु लज्जास्पद हो ।

अन्य केही विरादरीका मिडियाहरु पनि कान्तिपुरसँग सती जाँदै रविको खेदोमा उत्रिनुले विगतको ‘१२ भाइ’ भाष्यलाई पुनः जागृत गरिदिएको छ । यसरी पत्रकारिताको हुर्मत लिइनु हुँदैनथ्यो । तर, नेपालका करिब आधा दर्जन छापा तथा अनलाइन मिडिया कसैलाई ठोक्न र बोक्न यसैगरी संगठित हुने गरेका छन् ।

उनीहरुको नियतमा किन पनि प्रश्न उठ्छ भने जीबी राईको सहकारीका बचतकर्ता पीडित भएको अहिले होइन । उनीहरुले आवाज उठाउन थालेको पनि अहिले होइन । राईलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको नै धेरै भइसक्यो । अहिले अचानक कान्तिपुरलगायत १२ भाइलाई किन संवेदनशीलता जाग्यो ? किनकि उनीहरु रविलाई पाठ सिकाउन आतुर थिए । उनीहरु मिडियाको शक्ति देखाउन आतुर थिए । यदि साँच्चै पीडितप्रति सहानूभुति थियो भने कान्तिपुरले ‘पीडितहरु हार्ट अट्याक भएर अस्पताल भर्ना’ भनेर लेख्नुअघि उनीहरुको तस्वीर र बाइटसमेत राखेर समाचारलाई विश्वसनीय बनाउने प्रयास गर्थ्यो होला । तर, यो भावुकतामा पनि नभएर आवेशमा लेखिएको समाचार हो ।

अब विषयमा जाउँ ।

रवि राजनीतिमा आउनुअघि ग्यालेक्सी टेलिभिजनमा आवद्ध थिए । न्यूज २४ टीभीमा ‘जनतासँग सीधा कुरा’ कार्यक्रम चलाएर कमाएको प्रतिष्ठा र लोकप्रियताको जगमा टेकेर उनले निकै महत्वाकांक्षी ढंगले ‘ग्यालेक्सी टीभी’ सुरुवात गरेका थिए २०७७ साल फागुनमा । यद्यपि, सो टेलिभिजनमा उनले आफ्नो पैसा लगानी गरेका थिएनन् । मुख्य लगानीकर्ता जीबी राई उर्फ गितेन्द्रबाबु राई हुन् ।

प्राप्त जानकारीअनुसार रविले टीभी प्रसारण सुरु हुनुअघि मासिक ४ लाख ५० हजार र टीभी सञ्चालनमा आएपछि मासिक ८ लाख रुपैयाँ तलव प्राप्त गर्ने सम्झौता थियो । उनी टेलिभिजनका म्यानेजिङ डाइरेक्टर थिए । यो भनेको कुनै पनि कम्पनीको दैनन्दिन कामलाई नेतृत्व गर्ने पद हो । त्यसबाहेक राईले रविलाई टेलिभिजनको १५ प्रतिशत शेयर निःशुल्क दिएका थिए । यो भनेको ‘गुडविल शेयर’ हो । टेलिभिजनले नाफा गरेको अवस्थामा त्यसको १५ प्रतिशत रविको भागमा पर्थ्यो । तर, अहिलेसम्म टीभी नाफामा गएको छैन । पछिल्लो अवस्थामा त आर्थिक रुपमा संकटग्रस्त बनेको छ ।

रविले टीभीमा एक वर्षमात्रै काम गरे । राजनीतिमा हाम्फाल्न उनले गत वर्ष असारमा हठात टेलिभिजनबाट राजीनामा दिए । रविको लोकप्रियता हेरेर जीबीले टेलिभिजनमा ठूलो लगानी खन्याएका थिए । सुरुमा राम्रो बिजनेस पनि आएको थियो । तर, एक करोड २० लाख रुपैयाँ मासिक तलबमै खर्च हुन्थ्यो । त्यसैले टीभी नाफामा जान सकिरहेको थिएन । रविले छोडेर हिँडेपछि टेलिभिजन चाँडै धराशायी बन्यो । कर्मचारीले नियमित तलब पाउन छोडे । अहिले टेलिभिजन बन्द हुने अवस्थामा पुगेको छ ।

रविले टेलिभिजन छाड्दा आफ्नो नामको शेयरबापत केही पनि दाबी गरेको देखिएन । सबै शेयर यत्तिकै फिर्ता गरेर हिँडेको उनले आफ्नो अन्तिम टेलिभिजन कार्यक्रममै बताएका थिए । सञ्चालक जीबी राईसँग सौहार्द रुपमै उनी बिदा भएका हुन् । उनले काम गरुञ्जेलको तलब खाइसकेका थिए । त्यसैले टीभी छोडेपछि कुनै लेनदेन बाँकी रहेन ।

ग्यालेक्सीका मालिक जीबी राईको कुरा गर्दा उनी नेटवर्क व्यवसायबाट उदाएका हुन् । विगतमा उनी हर्बो इन्टरनेशनलका एक साझेदार थिए । सरकारले २०६८ सालमा नेटवर्क व्यवसायमा प्रतिवन्ध लगाएपछि राईले आफ्नो लगानी सहकारीमा केन्द्रित गरे । उनको समूहले देशभर सात वटा सहकारी सञ्चालनमा ल्याएको थियो, त्यसमध्ये पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी पहिलो हो ।

टेलिभिजन चलाउन राईले आफ्ना सहकारीहरुबाट ठूलो रकम ऋण निकालेको पाइएको छ । सहकारीले आफ्ना सदस्यबाहेक अरुलाई ऋण दिन मिल्ने कानूनी प्रावधान छैन । यसैले राईले कानून उल्लंघन गरेको देखिन्छ । तर, यसको भागीदार रवि लामिछाने हुन् कि होइनन् भन्ने मूल प्रश्न हो । दोस्रो, रविको नाम उल्लेखित एउटा चिर्कटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सूर्यदर्शन सहकारीमाथि छानबिन गर्न पोखरा महानगरले बनाएको छानबिन समितिको रिपोर्टबाट निकालिएको उक्त चिर्कटोमा सो सहकारीको १ करोड रुपैयाँ रवि लामिछानेको नामबाट फर्छ्योट भएको उल्लेख छ । यही चिर्कटो राखेर कान्तिपुरले यस्तो भ्रम छर्न खोजेको छ कि रविले सहकारीको एक करोड घपला गरेका हुन् ।

सामान्य हिसाबले हेर्दा के देखिन्छ भने जीबी राईले सहकारीबाट निकालेर टीभीमा हालेको एक करोड रुपैयाँको हिसाब मिलाउन रविको नाममा अल्पकालीन कर्जा खडा गरेका थिए । यस्तो कर्जालाई ‘पुलेसो कर्जा’ भन्ने गरिन्छ । कुनै पनि कामका लागि तत्काल पैसा चाहियो, तर आउने ठाउँबाट आउन अलिकति समय लाग्ने भयो भने पछि फरफारक गर्ने गरी यस्तो लोन दिने गरिन्छ । यो अवैध होइन । नेपालमा यो लोन खासै प्रयोगमा पनि छैन । तर, युरोपका देशहरुमा भने ब्रिजिङ लोन धेरै उपयोग हुने गरेको छ । रविले ग्यालेक्सी छोड्नुअघि यो कर्जा राईकै नाममा सारेर रफादफा भइसकेको छ । अर्थात उनी यो कर्जाबाट पनि मुक्त छन् ।

यद्यपि, रविले सार्वजनिक भाषणमा आफूलाई यो विषयमा जानकारी नै नरहेको बताएका छन् । सूर्यदर्शन सहकारीसँग आफ्नो कुनै पनि सम्बन्ध र सरोकार नरहेको र एक करोड रुपैयाँमा कसरी नाम जोडियो भन्नेबारे पनि बेखबर रहेको उनको दाबी छ । रवि निकट स्रोतले आफ्नो नाम कसरी दुरुपयोग भयो भन्नेबारेमा रविले अध्ययन गरिरहेको र आवश्यक परे कानूनी उपचारको खोजी पनि गर्न सक्ने बतायो ।

अब कुरा गरौं सहकारी ठगीको । जीबी राईले सहकारीबाट करोडौं रुपैयाँ निकालेर टीभीमा लगानी गरे । तर, टीभी निरन्तर घाटामा गएपछि उनले सहकारीको रकम फिर्ता गर्न सकेनन् । सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेन । सबैभन्दा ठूलो रकम निकालिएको सूर्यदर्शनका पीडितहरु आन्दोलित भए । राईविरुद्ध मुद्दा दायर भयो । अदालतले गत भदौमा पक्राउ पुर्जी जारी गर्‍यो । र, हाल उनी फरार सूचीमा छन् । उनीमाथि बचतकर्ताहरुको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप छ । जीबीका मुख्य सहयोगी कुमार रम्तेल पक्राउ परिसकेका छन् ।

अब अहिले आएर कान्तिपुरले यो प्रकरणमा रविलाई जोडेको छ । ‘खोया काण्ड’ मा लज्जित बन्दै क्षमायाचना गर्नु परेपछि कान्तिपुरले रविविरुद्ध ‘खोज पत्रकारिता’ थालेको बुझ्न कठिन छैन । कान्तिपुरको तर्क छ कि सहकारीबाट टेलिभिजनमा अवैध रुपमा भएको ऋण लगानीको जवाफदेही रवि हुन् किनकि उनी त्यसबेला कम्पनीका ‘म्यानेजिङ डाइरेक्टर’ थिए ।

सहकारीले आफ्ना सदस्यबाहेकलाई ऋण प्रवाह गर्न नपाउने कानून रहेको छ । साथै, कुनै पनि नाफामूलक प्राइभेट वा सरकारी कम्पनी सहकारीको सदस्य बन्न सक्दैनन् । यसले गर्दा जीवी राईको सहकारीबाट टेलिभिजनमा विनाधितो ऋण लगानी हुनु अवैध नै हो । तर, यसमा गल्ती सहकारीको हो कि टेलिभिजनको ? वा दुवैको ?

कुनै पनि वित्तीय संस्थाले कसैलाई मापदण्डविपरीत र विनाधितो ऋण दिएको रहेछ भने त्यसको जोखिम उक्त संस्थाले नै व्यहोर्नुपर्छ । कारबाहीको भागीदार पनि उक्त संस्थाका सम्बन्धित अधिकारी नै हुन्छन् । ऋणीलाई पनि कानूनले नछुने होइन । तर, यो केसमा मुख्य ऋणी पनि जीबी राई नै हुन् । उनले टीभीको सञ्चालक समितिको बैठकबाट निर्णय पनि नगराइकन ऋण ल्याएको बुझिन आएको छ । टीभीका लगानीकर्ताले कहाँबाट पैसा ल्याएका हुन् भन्नेमा रवि नै बेखबर थिए कि ! त्यो जानकारी उनले राख्नैपर्थ्यो कि पर्थेन ?

जहाँसम्म रवि नैतिक जिम्मेवार हुन् कि होइनन् भन्ने प्रश्न छ, स्मरणीय रहोस् कि रविले टेलिभिजन छोडिसकेपछि सहकारीको विवाद सतहमा आएको हो । रवि टीभीको प्रवन्ध निर्देशक रहुञ्जेलसम्म कोही पनि पीडित भयौं भनेर आएका थिएनन् । अथवा त्यतिबेलासम्म कोही ठगिएका पनि थिएनन् । आफू कम्पनीबाटै बाहिर आइसकेपछि भएको स्क्याममा उनलाई कसरी जिम्मेवार ठहर्‍याउने ?

रविको आलोचना गर्ने अनेक विषय होलान् । उनका सयौं कमजोरी होलान् । नगरेको गल्तीमा जबरजस्ती मुछ्नु ठीक होइन । यसबाट सञ्चारमाध्यमलाई क्षणिक आत्मरति त मिल्ला । तर, दीर्घकालमा घाटा हुने पनि उनीहरुलाई नै हो । जस्तो कि रविले उपचुनाव लड्नुअघि पनि उनीविरुद्ध रविले भन्ने गरेका १२ भाइवाला मिडियाबाट यस्तै आलोचनाको आँधीबेरी सिर्जना गरिएको थियो । तर, त्यसले रविलाई घाटा होइन, फाइदा भयो । पहिलेभन्दा बढी भोट ल्याएर जिते ।

यो खबर नेपाल प्रेसमा छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...