गजल – १
सोच्छु बान्नो गर्कियो होला खामो बाङ्गियो होला !
भत्किनै आटेको गाइगोठ थियो भत्कियो होला !
दोस्रो भेट होला नहोला यो ठाउँ छोडेर जादै छु ।
बिर्सनु सङ्गि कहिलेकाही नमीठो बोलियो होला !
अर्काको घरको टल्किने मार्बलमा पोछा मार्दैछु ।
आफ्नो घरको दलिन धैसैधैसोले धैसियो होला !
थिएन घरमा टालो हाल्ने टालो तुन्ने सियो धागो ।
बाउको कमिज आमाको चोलि च्यातियो होला !
आफ्नै आगन खन्दा पनि हजुर मौन रहनु भयो ।
ए बा यो छिमेकीले हजुरलाई के सम्झियो होला ?
गजल – २
हो नभन्नु बेरोजगारी,खाडीको जागिर छ !
नभए पनि सरकारी,खाडीको जागिर छ !
भित्तेपात्रो पल्टियो नजिकिए दशै तिहार ,
भयो नफूल हजारी खाडीको जागिर छ !
पाएकै छौ पेट भर्न,पुगेकै छ जिउ छोप्न ।
गर्दिन देशमा गद्दारी,खाडीको जागिर छ !
पढाउनु बालबच्चा,गर्नु दमको ओखती ।
ए पियारी हे मतारी,खाडीको जागिर छ !
बग्यो खुन,पसिना,मरुभूमिमा फल्यो सुन ।
बाजो भए खेतबारी,खाडीको जागिर छ !
गजल – ३
मेरो जरुरतमा मेरो अस्तित्व थाहा पाउछ कि ।
मलाई च्यातेको थ्यो च्यात्नुमा पछुताउछ कि !
अगेना छेउ बसेकी आमा बालाइ हेर्दै बोलिन् ।
आगो भर्भरायो कतै छोरो पो घर आउँछ कि !
आँखामै थ्यो कर्णाली आँखामै थ्यो टनकपुर ।
देश पनि आँखामै छ आँखाबाटै हराउछ कि !
जाउ सखि मधुशाला थोरै पिएर बिचार गर्छु ।
उनको यादमा दुख्ने मुटु नदुख्ने बनाउछ कि !
हिजो यो घाँटी रेटेर हिडेको हो अंशको लागि ।
भाइ हो यार भोलि श्रद्धाञ्जली पठाउछ कि !
✍️ गजलकार
लोकेश जलन, सल्यान