सरकारले तराईका नागरिकलाई शीतलहरको जोखिमबाट जोगाउन घरका भित्ता माटोले लिपपोत गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले यो योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
यसका लागि प्रतिघर १० हजार रुपैयाँ वितरण गर्ने तयारी छ । सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनको समन्वयनमा उक्त रकम सेवाग्राहीलाई वितरण गरिनेछ । उक्त रकमले चिसो नछिर्ने गरी घरका भित्ता लिपपोत गर्नुपर्नेछ । प्राधिकरणले यसको निर्णय गरिसकेको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले तराईका नागरिकलाई शीतलहरबाट जोगाउन घरका भित्ता लिपोपोत गर्ने योजना कार्यान्वयनमा ल्याइएको बताए । ‘चिसो सुरु भइसकेको छ । चिसोबाट प्रभावित हुनेको तथ्यांक मुलुकभरिबाट आउन सुरु गरिसकेको छ । विशेषगरी तराईका जनता शीतलहरबाट अन्यको तुलनामा बढी प्रभावित हुने गर्छन् । यसलाई न्यूनीकरण गर्नु सरकारको कर्तव्य हो,’ उनले भने, ‘त्यसका लागि उनीहरूका घरका भित्ता लिपपोत गर्ने योजना कार्यान्वयन गर्ने भएका छौँ । प्रतिघर दश हजार रुपैयाँ खर्च गरे पुग्छ । निर्णय भइसकेको छ । यो काम अब धमाधम अघि बढ्नेछ ।’