भविष्यमा झनै घट्न सक्छ ठूला दलको जनमत

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।

प्रष्टै देखिएको छ-भर्खरै सम्पन्न आम निर्वाचनमा तीन वटै ठूला, पुराना दल– नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मत उल्लेखनीय मात्रामा घटेको छ ।

२०७४ को आम निर्वाचनमा एमालेले प्राप्त गरेको समानुपातिक मत ३१ लाख ७३ हजार ४९४ अर्थात् ३३.२५ प्रतिशत थियो । यसपटक २८ लाख ४५ हजार ६४१ अर्थात् २६.९५ प्रतिशत मत मात्रै प्राप्त गर्‍यो । यसरी एमालेले ६.३० प्रतिशत मत गुमायो ।

गत निर्वाचनमा ३१ लाख २८ हजार ३८९ अर्थात् ३२.७८ प्रतिशत मत प्राप्त गरेको नेपाली कांग्रेसले यसपटक २७ लाख १५ हजार २२५ अर्थात् २५.७१ प्रतिशत मात्रै मत प्राप्त गर्‍यो । उसले ७.०७ प्रतिशत मत गुमायो ।

माओवादी केन्द्रले गत चुनावमा १३ लाख ३ हजार ७२१ अर्थात् १३.६६ प्रतिशत मत प्राप्त गरेको थियो । यसपटक ११ लाख ७५ हजार ६८४ अर्थात् ११.१३ प्रतिशत मत मात्रै पायो । अर्थात् २.५३ प्रतिशत मत गुमायो ।

एमालेले सीधा हिसाबमा ३ लाख २७ हजार ८५३, नेपाली कांग्रेसले ४ लाख १३ हजार १६४, माओवादी केन्द्रले १ लाख २८ हजार ३७ मत गुमाएको छ । तर, यसरी तीन ठूला दलले गुमाएको मत मात्रात्मक गणनामा सबैभन्दा बढी नेपाली कांग्रेसले करिब ४ लाख गुमाएको देखिन्छ । सबैभन्दा कम माओवादी केन्द्रले करिब १ लाख मात्रै ।

तर, यो सही र उपयुक्त गणना हैन । किनकि यसमा बढेका मतदाता र खसेको मतमा भएको बढोत्तरीको प्रभाव गणना छैन । अघिल्लो चुनावमा १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता थिए । यसपटक १ करोड ७९ लाख ८८ हजार ७५० मतदाता पुगे ।

अघिल्लो चुनावमा ६८.६३ प्रतिशत मतदान भएको थियो भने यसपटक ६१.४१ प्रतिशत मात्रै । ७.२२ प्रतिशतले मतदानमा गिरावट आउनु मतदातामा शास्त्रीय दलहरूप्रतिको निराशा, अविश्वास र वितृष्णा बढेको प्रमाण त हो नै साथै नयाँ दलहरूले समेत मतदातालाई मतदानका लागि पर्याप्त अपील गर्न नसकेको समेत सत्य हो ।

२०७४ को चुनावमा १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो । यसपटक १ करोड ११ लाख २६ हजार २२६ मत । अर्थात् मात्रात्मक गणनामा ५ लाख ३८ हजार ७०५ मत बढेको थियो ।

२०७४ को चुनावमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको थियो भने यसपटक १ करोड ५ लाख ६० हजार ८२ मत । अर्थात् सदर मतमा १० लाख १५ हजार ३३८ को मात्रात्मक वृद्धि रह्यो ।

बढेको मत संख्या, घटेको मतदान प्रतिशत, खसेको र सदर मतमा मात्रात्मक बढोत्तरीका बाबजुद तीन वटै ठूला दलहरूको वास्तविक मत घट्नुले पुराना दलहरू संकटग्रस्त हुँदै गएको संकेत गर्दछ । अर्थात् तीन ठूला दलको मात्रात्मक भन्दा गुणात्मक ह्रास झनै चर्को छ । सरल हिसाबमा दलहरूले क्रमशः करिब ३, ४ र १ लाख मत गुमाएको देखिए पनि गुणात्मक विश्लेषणमा करिब दोब्बरको प्रभाव परेको छ ।

यस दृष्टिकोणले एमालेले करिब ७ लाख, नेपाली कांग्रेसले करिब ८ लाख र माओवादी केन्द्रले करिब २ लाख बढी मत गुमाएको निष्कर्ष निस्कन्छ ।विश्लेषणको अर्को पाटो भने ह्रासोन्मुख प्रवृत्ति हो । तीन दलमध्ये यो प्रवृत्तिको सबैभन्दा चर्को मार माओवादी केन्द्रलाई परेको छ ।

माओवादी केन्द्रको मत २०७० सालयताका तीनवटै चुनावमा घटेको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीको मत २९.२८ प्रतिशत थियो, २०७० मा १५.२१ प्रतिशतमा । २०७४ सालमा १३.६५ प्रतिशतमा झरेको मत यसपटक ११.१६ प्रतिशतमा पुगेको छ ।

माओवादीको मत ह्रासको दर गणितीय अनुपातमा व्यक्त गर्न नसकिने प्रकारको छ । पहिलो पटक १४.०७ प्रतिशतले घटेको छ भने दोस्रोपटक १.५६ प्रतिशतले भने यसपटक २.४९ प्रतिशतले । मानौं कि ह्रासोउन्मुख दर यसरी नै कायम रह्यो भने माओवादी केन्द्र २०८४ को चुनावसम्म १० लाख भन्दा पनि कम मत प्राप्त गर्ने दलमा झर्नेछ र यो संभावना निकै बलियो छ ।

एमाले र नेपाली कांग्रेसको भने माओवादी केन्द्रको जस्तो निरन्तर ह्रास भएको पाइन्न । पहिलो संविधानसभा निर्वाचनमा यी दुवै दल निकै कमजोर थिए । नेपाली कांग्रेसले २१.१४ र एमालेले २०.३३ प्रतिशत मत पाएका थिए ।

२०७० र २०७४ को चुनावमा यी दुवै दलले उल्लेखनीय वृद्धि गरे । २०७० मा नेपाली कांग्रेस २५.५५ प्रतिशत र एमाले २३.६६ प्रतिशतमा उक्लियो । यो प्रवृत्तिको निष्कर्ष के हो भने माओवादी निरन्तर ह्रासोन्मुख छ भने एमाले र कांग्रेस भने ह्रासलाई ‘रिकभर’ पनि गर्न सक्ने दलका रूपमा स्थापित छन् ।

समग्रमा सतही र उपरीविचार कारणहरू हेर्दा तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।

तर, एमाले र नेपाली कांग्रेसकै हकमा पनि पहिलो संविधानसभा, त्यसपछिका राजनीतिक प्रवृत्ति र यसपटक प्रकट भएको राजनीतिक प्रवृत्तिले दिने अवसर र चुनौती फरक प्रकारका छन् ।

त्यो बेला करिब एक दशक लामो सशस्त्र विद्रोहपछि माओवादी शान्ति प्रक्रियामा आएको थियो । आन्तरिक संसदमा माओवादीको उल्लेखनीय उपस्थितिले मतदातामा माओवादी एक उदीयमान शक्तिका रूपमा स्थापित भएको थियो ।

माओवादी संघर्ष र बलिदानको राप, ताप र आकर्षणले जनमत प्रभावित थियो । यतिका धेरै संघर्ष र दुःख गरेर आएका शक्ति भएका हुँदा केही नयाँ र राम्रो गर्छ कि भन्ने आशा,अपेक्षा थियो । पहिलो संविधानसभामा माओवादीले प्राप्त गरेको मतलाई ‘आश, त्रास र बतास’ को मत भनिएको थियो । यो विश्लेषण ठीकै थियो भन्ने कुरा दोस्रो संविधानसभाले पुष्टि गर्‍यो ।

दोस्रो संविधानसभासम्म पुग्दा माओवादी उल्लेखनीय रूपमा कमजोर भयो । फलतः एमाले र नेपाली कांग्रेस आफ्नो पुरानै आकारमा फर्किए । अर्थात् त्यो माओवादी भर्सेस कांग्रेस–एमाले ध्रुवीकरणको युग थियो । माओवादी बढ्दा कांग्रेस–एमाले घट्नु र माओवादी घट्दा कांग्रेस–एमाले बढ्नु स्वाभाविक थियो ।

तर, २०७४ पछि यो परिदृश्य बदलिएको देखिन्छ । तीन ठूला दल–कांग्रेस, एमाले–माओवादी भर्सेस् नयाँ र वैकल्पिकहरूको खोजी मुख्य राजनीतिक प्रवृत्तिको रूपमा उदित भएको छ । यसबाट के प्रष्ट हुन्छ भने अब देशको राजनीति कांग्रेस, एमाले र माओवादी एकअर्काको त्रिकोणात्मक सम्बन्धबाट निर्देशित हुने छैन ।

कांग्रेस, एमाले र माओवादीको त्रिकोण एकातिर हुनेछ भने अर्कोतिर नयाँ र वैकल्पिक दलहरूको खोजी नयाँ ध्रुव बनेर आउनेछ । यसपटक तीन ठूला दलले पाएको मत ६३.७९ मात्रै हुन्छ, अर्थात् तीन ठूला दल मिल्दा पनि दुईतिहाइ मत हुँदैन । बाँकी ३६.२१ प्रतिशत मत तीन ठूला दलभन्दा बाहिर भइसकेको छ । यो मत कुनै खास कारण र स्थितिले एकठाउँ भयो भने यी तीन ठूला दलभन्दा पनि ठूलो राजनीतिक शक्तिको जन्म हुन सक्नेछ ।

यी त सतहमा प्रष्ट देखिएका तथ्यांक र कारण भए । अन्तर्यका तथ्यांक र कारण भने झनै रोचक र पेचिला छन् । यद्यपि ती प्रमाणित छैनन्, संकेतका रूपमा प्रकट भएका छन् ।

‘अन्डर करेन्ट’ प्रवृत्तिहरूको विश्लेषणले तीन ठूला दल भविष्यमा झनै कमजोर हुने र चालू प्रवृत्ति कायम भएमा २०८४ को चुनावसम्म पुग्दा माओवादी केन्द्र १० प्रतिशत भन्दा पनि कम र एमाले–कांग्रेस २०÷२० प्रतिशत मतको हाराहारीमा झर्ने अनुमान गर्न सकिन्छ ।

त्यो कसरी त ? निकै ठूलो राजनीतिक असहजता बीच एमाले यसपटक पनि समानुपातिक लोकप्रिय मतमा पहिलो ठूलो दल बन्न सक्यो । जबकि एमालेको विपक्षमा तीन ठूला कारण थिए ।

पहिलो– एमाले विभाजित भएको थियो । माधव नेपाल र झलनाथ खनाल जस्ता दुई पूर्व पार्टी प्रमुख र पूर्वप्रधानमन्त्रीले पार्टी छोडेका थिए । घनश्याम भूसाललगायत कैयौं नेताले पार्टी परित्याग गरेका थिए । पार्टी एकप्रकारले विशृंखल र तितरबितर जस्तो देखिएको थियो ।

दोस्रो– गत चुनावमा गरेको प्रतिबद्धता अनुरूप वाम गठबन्धन, एकीकृत कम्युनिष्ट पार्टी जोगाउन नसकेको र झण्डै दुईतिहाइको सरकारले पनि राजनीतिक स्थिरता, सुशासन, आर्थिक विकास र समृद्धि दिन नसकेको आरोप एमाले माथि थियो । दुई–दुई पटकको असंवैधानिक संसद विघटन र नागरिक विधेयक संशोधन ऐन अप्रमाणीकरणको आरोप समेत एमालेमाथि थियो ।

तेस्रो– एमाले विरुद्धको पाँचदलीय गठबन्धन निकै बलियो हुने ठानिएको थियो । गठबन्धन सोचे जस्तो बलियो त देखिएन तर त्यसको प्रभाव नै रहेन भन्नु उचित हुँदैन । गठबन्धन हुँदैनथ्यो त सायद माओवादी केन्द्र प्रत्यक्षतर्फ १० सीट भन्दा मुनि हुन्थ्यो, एकीकृत समाजवादीले १० सीट जित्न सम्भव हुन्थेन । तर, यदि गठबन्धन बलियो हुन्थ्यो त थप १८ सीट गठबन्धनले जित्ने र एमालेले गुमाउने हुन्थ्यो । त्यसो भएको भए एमाले प्रत्यक्षतर्फ २६ सीटमा मात्रै सीमित हुन्थ्यो ।

अर्थात् १८ निर्वाचन क्षेत्र त्यस्ता छन् जहाँ समानुपातिकतर्फ गठबन्धन दलहरूले पाएको मतभन्दा प्रत्यक्षतर्फ पाएको मत निकै कम छ । यसको अर्थ हुन्छ– पाँचदलीय गठबन्धनभित्रका दललाई राजनीतिक आस्थाको केन्द्र मान्ने मतदाताले समेत प्रत्यक्षतर्फ एमाले उम्मेदवारलाई भोट दिएका छन् । त्यसो हुनुको मुख्य कारण एमालेप्रतिको विश्वास वा रुझान नभएर गठबन्धनभित्रको असन्तुष्टि र प्रतिशोधको भावना मुख्य भएको पाइन्छ ।

एकातिर पाँचदलीय गठबन्धन बन्नु एमालेका लागि चुनौती सावित भएको थियो भने अर्को गठबन्धन भएर पनि गठबन्धन भावना बलियो नहुँदा एमालेलाई निकै ठूलो फाइदा भएको देखिन्छ । तर, यी दुवै अवस्थाको प्रभाव भने प्रत्यक्षतर्फका सीटका लागि मात्रै हो । समानुपातिक मतको प्रवृत्ति विश्लेषणमा यसले खासै अर्थ राख्दैन ।

यतिका ठूला चुनौतीका बाबजुद एमाले किन समानुपातिकतर्फ पहिलो मत प्राप्त गर्ने पार्टी भयो त ? यसको अन्तर्यमा रहेको कारण बडो रोचक छ । केही सर्वेक्षणहरूका अनुसार एमाले कार्यकर्ता वा समर्थक देशकै सबैभन्दा बढी ‘पार्टी निष्ठा’ भएका कार्यकर्ता वा समर्थक हुन् ।

अरू पार्टीका समर्थकहरू तत्कालिक कारणहरूले जे–जसरी मत बदल्छन्, त्यसको तुलनामा एमालेका कार्यकर्ताहरू असन्तुष्टिका बावजुद ‘ब्राण्ड निष्ठा’ मा विश्वास गर्दछन् । अंग्रेजीमा ‘पार्टी लोयालिटी’ भनिने यो भावनामा सबैभन्दा ठूलो अंश एमालेको छ । करिब ६८ प्रतिशत एमाले कार्यकर्ता–समर्थक पार्टी निष्ठामा विश्वास गर्दछन् । यसपटक यही भावनाले एमालेलाई जोगाएको विश्लेषकहरूको ठहर छ ।

तर, यो भावनाले पनि एमालेलाई सधैं जोगाउन गाह्रो छ । किनकि बितेका दुई दशकयता एमालेप्रति ‘पार्टी निष्ठा’ उमेर अनुपात विपरीत हुँदै गएको छ । एमाले नेता, कार्यकर्ता र पार्टी सदस्यको मुख्य पंक्ति २०३६–२०४६ को बीचमा उत्पादन भएको थियो ।

२०५० र ६० को दशकमा एमाले युवापंक्तिमा पार्टी निष्ठा बलियो भएको पार्टी थियो । तर, २०७० को दशकमा आइपुुग्दा एमाले युवामा हैन, ५० वर्ष बढीको उमेर समूहमा मात्रै बलियो पार्टी निष्ठा भएको पार्टी बन्न पुगेको छ ।

एक संस्थाले काठमाडौंका ४ निर्वाचन क्षेत्रमा गरेको ‘एक्जिट पोल’ अनुसार यसपटकको निर्वाचनमा २०७४ मै भोट दिएको पार्टीलाई दोहोर्‍याएर भोट दिने ५० प्रतिशतभन्दा बढी मतदाता एमालेका छन् । अरू पार्टीका अधिकांश मतदाताले भोट फेरेका छन् ।

अर्थात् उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारले पाएको मत अधिकांश एमाले इतर मत हो । त्यसमा पनि युवा र कांग्रेस निकट मतदाताले यसपटक नयाँलाई मतदान गरेका छन् ।

अन्तर्यमा रहेको यो प्रवृत्ति एमालेको भविष्यका लागि निकै जोखिमपूर्ण छ । किनकि एमाले ब्राण्ड निष्ठा भएका मतदाता बुढो हुँदै र घट्दै जाने, एमाले ब्राण्ड निष्ठा नभएका युवा मतदाता आगामी दिनमा बढ्दै जाने देखिन्छ ।

यो प्रवृत्ति कायम रह्यो र एमालेले युवा मतदातालाई नयाँ ढंगले आकर्षित गर्न सकेन भने २०८४ को चुनावसम्म पुग्दा एमालेको अझै ६ प्रतिशत मत घट्ने र २० प्रतिशतको हाराहारीमा पुग्ने संभावना छ ।

नेपाली कांग्रेसको ब्राण्ड निष्ठा पनि यसपटक कमजोर देखिएको छ । शहरी क्षेत्रमा पहिलोपटक कांग्रेस समर्थक मतदाताले मत बदलेको संकेत छ । एमालेको जस्तै नयाँ पुस्तामा कांग्रेसको प्रभाव पनि घट्दो छ । राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेका वा उल्लेखनीय मत पाएका जिल्ला र निर्वाचन क्षेत्रमा कांग्रेसको मत उल्लेखनीय ढंगले घटेको छ ।

कांग्रेस मतदाताले कम्युनिष्ट त्यसमा पनि माओवादीलाई मत दिन नचाहेको प्रष्टै देखिन्छ । जतिखेरसम्म नयाँ र लोकतान्त्रिक दलहरूको अभाव थियो, कांग्रेसका हजार कमजोरीका बाबजुद ती मतदाता विकल्पहीन जस्तै थिए र कांग्रेसलाई नै भोट दिंदै आएका थिए । अब त्यो अवस्था रहेन ।

माओवादी केन्द्रप्रति भने नयाँ, युवा, शहरिया, मध्यम वर्गीय र मधेशी मतदाताको कुनै आकर्षण पाइँदैन । माओवादीले जितेका १८ निर्वाचन क्षेत्र सबैजसो दुर्गम, पहाडी र ग्रामीण मतदाता बढी भएका क्षेत्र छन् । गठबन्धनको सीट र साथ पाएका काठमाडौं, ललितपुर, धरान, झापा, कपिलवस्तु, कैलाली, कञ्चनपुर आदि निर्वाचन क्षेत्रबाट माओवादीले विजय हासिल गर्न सकेन ।

माओवादी केन्द्र आगामी दिनमा झनै घट्न सक्ने प्रष्ट कारण के हो भने जुन ४ प्रकारका मतदाता यस पार्टीका लागि जोखिमपूर्ण देखिएको छ, त्यसको अनुपात झनै बढ्दै जानेछ । जस्तै-एक– नयाँ र युवा मतदाता बढ्दै जानु प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । २०८४ को निर्वाचनसम्म पुुग्दा जनआन्दोलन २०६२÷६३ पछि जन्मिएका नै मतदाता भइसक्नेछन् ।

दुई– देशमा शहरीकरण झन्झन् बढ्दै जानु विकास नियम अनुसार स्वाभाविक हो । नगरपालिकाको संख्या र भौतिक पूर्वाधारको वृद्धिसँगै शहरिया मतदाता अनुपात वृद्धि हुनेछ ।
तीन– मध्यम वर्गको विस्तार अर्थतन्त्रको नयाँ विश्वव्यापी चरित्र हो । हिजोजस्तो ‘बुर्जुवा’ र ‘सर्वहारा’ वर्गबीच वर्गीय ध्रुवीकरण हुने अर्थतन्त्रको चरित्र अब बाँकी छैन ।

आधुनिक तथा प्राविधिक शिक्षा, सेवागत क्षेत्रको विस्तार, प्रोफेसनालिज्म र उद्यमशीलताको विकास र वैदेशिक रोजगारले मध्यम वर्गको आकार झनै बढाउनेछ । माओवादीको भोट बैंक ‘सर्वहारा वर्ग’ को जनसांख्यिक अनुपात झनै कमजोर हुनेछ ।

चार– देशको बसाइँसराइको मुख्य प्रवृत्ति पहाडबाट मधेशतिर छ । र, मधेशमा माओवादीप्रतिको आकर्षण दुर्गम पहाडी जिल्लाका मतदाताको तुलनामा निकै कमजोर छ ।
यी चार कारणले माओवादीको भावी अस्तित्वको लागि निकै ठूलो चुनौती खडा गर्ने छन् ।

समग्रमा सतही र उपरी कारणहरू हेर्दा तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।

तीन ठूला दलहरूको भविष्य उनीहरूको भावी क्रियाकलापका अतिरिक्त ‘नयाँ र वैकल्पिक’ भनिएका दल र अभियानहरूको भूमिका, हस्तक्षेप र व्यवहारले समेत निर्धारण गर्नेछ ।

साभार: अनलाईनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...