एक आकृती हो ऊ !
नाच्छे,
आमन्त्रीत गर्छे,
सताउँछे…..
इन्द्रेणी उभिएको बेला
आउँछे,
कतै पर नेपथ्यमा
नाबालक रोइरहेको पल
आउँछे,
निर्मम झरीमा
अपराजिताको निलो थूंगा रुझाएर
आउँछे,
कोयली रोईरहेको ऋतुमा आउँछे
शरदको जूनभित्र आउँछे,
भित्र कतै शून्यभित्र शून्यको रिहर्सल भैरहेको पल
खुसुक्क आउँछे,
अनि रंग छर्छे
उज्यालो छर्छे
जगमग पार्छे
सारा इन्द्रीय स्तब्ध पारेर
लीला गर्छे,
डुब्दै गरेका वैजनी रंगहरुले
क्षितिजमा मनपरी गरिरहेको बेला आउँछे
साँझ दैलो ढप्क्याउने बित्तिकै आउँछे
कोठाको ल्याम्प निभाउन नभ्याउँदै आउँछे
रातभर आउँछे,
टिकटकका भाईरल
यौवनाहरु,
जसरी आउँछन्
एक सफ्टवेयरभित्र,
जसरी मन्चित हुन्छन्
दमित चाहनाहरु,
चल्दा चल्दैको मोबाईल ह्याङ्ग भैरहेको
अल्प समयभित्र !
छाडा भएर आउँछन
गाढा भएर आउँछन्
आउँदा आउँदै,
पराकम्पन भएर आउँछन्
अँध्यारो हुनै हुँदैन
एकान्त हुनै हुँदैन
एक आकृती छे !
जो-
आउँछे,
र उसका आभा – हजारौं प्रभा छरेर
मन, मुटु र हृदय
प्रभावित गरेर आउँछन
आउने आदत परिसकेकि
ऊ आउँछे,
आउँदा आउँदै लाज पचिसकेकि ऊ
आउँछे,
आउनु उसको नियती हो
आउँछे
आउँछे – मभरी
मनभरी
भ्रमभरी
यादका फुस्फुसे लहरहभरी
आउँछे,
यतिबेला जुन आँगनमाथी
उसका आदतका कबिता लेखिरहेको छु,
बस् !
यही आँगन हो उसले कुल्चिन बाँकी,
ऊ नआएको यही एउटा झुपडी छ ।
आँखा चिम्लिन नपाउँदै
आउने,
उसले नछोएको
केही औंला छन्
उसले आमने-सामुन्ने भएर
नहेरेको,
एकजोर आँखा
यिनै हुन् ,
उसले….
नसुम्सुम्याएको
यहि एउटा निधार हो ।
ऊ आउन स्वतन्त्र छे
बस् !
स्वागत गर्न नसकेको
अंगालोमा थाम्न नसकेको
उज्यालोमा ज्यून नसकेको
बस् ! एक अस्तित्व छ,
अहम् छ,
जसलाई
चूर्ण पारेर छरिदिउँ लागेको छ यसैबेला,
जसलाई
भष्म पारेर उढाईदिउं
र नाचुँ
एउटा सग्लो रातैभरी
यस्तै यस्तै लागेको छ ….
ऊ ! एक मोहिनी हो
तृष्णा हो
सीमाहिन
स्वतन्त्र
निर्झरी हो
परा हो !
आउँछे ।
थाम्न नसकेको ,
छुन नसकेको,
उसैको हुन नसकेको,
केही भाव छन्
भावना छन्
चाहना छन्
तर सबै सबै असफल अनुभूति मिल्क्याएर
म यादभित्र पुरिएरै
हराउने
एक क्रीष्टोफर मन छ ।
हुन्छ-
तिम्रो मर्जी छ,
तार, झंकार, सितार भएर
पत्थर, धार, प्रहार भएर
जसरी आउन मन छ,
आईरहनु….
आखिर यो युद्ध
चाहाना र आकृती न हो ।।