सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत र सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ। यस्तै‚ नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन्।
यस्तै‚ उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका अधिकारी विजयी भएका छन्। अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरी छन्।
मेयरमा निर्वाचित दाहाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित निर्वाचित भएकी थिइन्। २०३३ असार २३ गते भरतपुर–१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी माहिली छोरी हुन्। उनी २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन्। हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, २०७४ देखि २०७५ सालसम्म माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य, २०६१ देखि २०६३ सालसम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छन्।
यस्तै‚ २०६४ देखि २०७२ सालसम्म नेपाल कम्युनिष्ट पार्टी (माओवादी) काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) गरेकी छन्।
उपमेयर अधिकारी कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन्। २०२४ सालमा जन्मिएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट शुरु भएको हो। २०४२ सालमा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट शुरु भएको उनको राजनीतिक यात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए। २०४६ सालको आन्दोलनमा गिरफ्तारीदेखि २०६२/६३ मा सक्रिय सहभागिता जनाउनुभएका नेता अधिकारी २०५४ सालमा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत भएका थिए।
महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो। २९ वडामध्ये कांग्रेसले वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी) ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ। वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। -रासस










