कावासोती । कावासोती नगरपालिकामा कांग्रेसका लोकप्रिय नेता कमलराज गुरौले मेयरमा बागी उम्मेदवारी दिएका छन् । सोमबार कावासोतीस्थित निर्वाचन कार्यालयमा उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
२०४१ सालमा बीपी कोइरालालाई घरमा ल्याएर कार्यक्रम गरेको अभियोगमा जेल परेका व्यक्ति हुन् । ‘सधैं नेपाली कांग्रेस र प्रजातन्त्रका लागि लडियो अब एक पटक पार्टीका ठेकेदारहरुकोविरुद्ध लड्छु,’ मनोनयनपछि गुरौले भने, ‘हामी इमान्दार र अनुशासितहरुको पार्टीमा कुनै अस्तित्व हुँदैन र ? मेरो उम्मेदवारी निष्ठाका लागि हो पदका लागि होइन ।’
०७४ सालको स्थानीय निर्वाचनमा पनि आफूलाई समानुपातिक सांसद बनाउने भन्दै तत्कालीन कांग्रेस महामन्त्री डा शशांक कोइराला, हालका जिल्ला सभापति महेन्द्रध्वज जिसी, विष्णुकुमार कार्की लगायतले प्रतिबद्धता जनाएर पछि बेइमानी गरेको गुनासो गरे । ‘सारा युग कांग्रेसका लागि बिताइयो एक पटक पार्टी ठेक्का दिएर कब्जा जमाउन खोज्नेहरुकाविरुद्ध लड्छु’, गुरौले भने, ‘फिर्ता लिनका लागि उम्मेदवारी दिएको होइन ।’