स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाललाई स्टकल्यान्डले ३२४ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ६ विकेटको क्षतिमा ३२३ रन बनायो ।

डन्डीमा घरेलु टोलीका लागि कप्तान रिची बेरिङटन र माइकल लिस्कले उत्कृष्ट ब्याटिङ गरे । उनीहरुबीच छैटौं विकेटका लागि १२५ रनको साझेदारी हुँदा स्कटल्यान्ड ३ सय रनतर्फ अघि बढेको थियो ।

बेरिङटनले शतक प्रहार गरे । उनी १०२ रन बनाएर रनआउट भएका थिए । उनले ११४ बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे । उनलाई ४८औं ओभरमा दुई रन लिने क्रममा गुल्सन झाको थ्रोमा आसिफ शेखले रनआउट गरे ।

लिस्कले नटआउट ९६ रन बनाउने क्रममा ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा करण केसीलाई लगातार तीन छक्का प्रहार गरेका मार्क वाटले ९ बलमा नटआउट २१ रन बनाए ।

त्यसअघि ओपनर जर्ज मुन्सी शून्य र ब्रेन्डन मक्मेलन ५ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले पहिलो पावरप्लेको ६ ओभरभित्र आउट गरेका थिए ।

ओपनिङ ब्याटर चार्ली टियर ६८ रन बनाएर खेलिरहदा ललितनारायण राजवंशीबाट बोल्ड भएका थिए । दीपेन्द्रसिंह ऐरीले फिनले म्याकक्रेथलाई १७ रन र म्याथ्यु क्रसलाई ३ रनमा आउट गरे । दीपेन्द्रले फिनलेलाई उत्कृष्ट कट एन्ड बउल्ड गरेका थिए ।

बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । करणले २ मेडन राखे पनि ९ ओभरमा ७४ रन खर्चिए । दीपेन्द्रले ७ ओभरमा ३७ रन दिए ।

ललित राजंवशीले १० ओभरमा १ विकेट लिँदा ४१ रन खर्चिए । सन्दीप लामिछाने भने चल्न सकेनन् । उनले १० ओभर बलिङ गर्दा कुनै विकेट लिन सकेनन् । खेलमा सन्दीपले ६९ रन खर्चिँदा ५ चौका र ३ छक्का दिएका थिए । मध्य ओभरमा उनी महँगो सावित हुँदा स्कटल्यान्डको रनले गति लिएको थियो ।

विकेट लिन नसकेका सोमपाल कामी सबैभन्दा महँगो सावित भए । उनले ९ ओभरमा ७५ रन खर्चिए । सिरिजका यसअघिका सुरुवाती खेलमा नेपाल विजयी भएको थियो । नेपालले स्कटल्यान्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो । स्कटल्यान्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search