प्रिय धन
चोरमारा,नवलपुर ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले हालसम्म कुल लम्बाइको करिब ८३% भागमा कालोपत्रे (पक्की) सडक निर्माण सम्पन्न गरेको जनाएको छ ।
११३.५३ किलोमिटर लम्बाइको यस सडकखण्डमा पुलहरूले ओगटेको ३.०७ किलोमिटर बाहेक ११०.४६ किलोमिटर भागमा कालोपत्रे गर्नुपर्नेमा हालसम्म एकतर्फी ९०.८७ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भएको हो ।
सडक आयोजनाका अनुसार हालसम्मको प्रगति हेर्दा यात्रुहरूले नारायणघाटदेखि बुटवलसम्मको झण्डै ९३.९४ किलोमिटर दूरी पक्की सडकमा यात्रा गर्न सक्ने अवस्था आएको छ । बाँकी रहेको अधिकांश अपक्की खण्ड दाउन्ने क्षेत्रमा पर्छ ।
दाउन्ने खण्डमा हाल कल्भर्ट निर्माणको कार्य अन्तिम चरणमा पुगेको र ढलान सडक (Rigid Pavement) को काम पनि समानान्तर रुपमा तीव्र गतिमा अगाडि बढिरहेको आयोजना स्रोतले जनाएको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति करिब ६६.५०% को हाराहारीमा पुगेको छ ।
यात्रुहरूको सहजता र पूर्व–पश्चिम राजमार्गको सवारी आवागमनलाई प्रभावकारी बनाउन यस सडकखण्डको निर्माण कार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।