काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
वेस्ट इन्डिजको गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए । जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे ।
हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए ।
जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। भारत अब उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ ।