कावासोती ,नवलपुर ।
नवलपुरको कावासोती नगरपालिका सहित जिल्लाका केही मठ मन्दिरहरुमा चोरिका घटना बढेपछी विश्व हिन्दु महासंघ नवलपुरको नेतृत्वमा जिल्लाका ३ धार्मिक संस्थाहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन।विश्व हिन्दु महासंघ नेपाल नवलपुर,विश्व हिन्दु युवा संघ नवलपुर र माइ नेपाल नामक धार्मिक संस्थाहरुले आज दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन ।
विश्व हिन्दु महासंघ नवलपुरका अध्यक्ष मणि प्रसाद भुसाल,विश्व हिन्दु युवा संघ केन्द्रिय सदस्य किरण भुर्तेल र माइ नेपाल नवलपुरका संयोजक राजेश अर्यालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जिल्लाका मठ मन्दिरहरुमा बढीरहेको चोरी ,तोडफोड ,आगजनी लगायतका अराजक तथा सनातन संस्कृति माथिको प्रहारलाइ भत्सर्ना गर्दै दोषी पत्ता लगाइ कडा कार्वाहीको माग समेत गरिएको छ। पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफुले चोरी लगायतका घटनालाइ गम्भीरता पुर्वक लिएको भन्दै आवश्यक अनुसन्धान तथा कारवाहिका लागि मातहतका कार्यालयमा निर्देशन दिने जानकारी दिनुभयो ।
केही दिन अघि कावासोतिको नर्मदेश्वर शिवालय मन्दिर कावासोती-२,मनकामना मन्दिर कावासोती-८ ,गणेश मन्दिर कावासोती-१,कृष्ण मन्दिर कावासोती ६ लगायतका जिल्लाका मठ मन्दिरमा चोरी तथा आगजनीका घटना निरन्तर सार्वजनिक भएपछी महासंघ लगायतका धार्मिक संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको विश्व हिन्दु महासंघ नवलपुरका नव-निर्वाचित अध्यक्ष मणि प्रसाद भुसालले बताए।ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष सन्तोष राना मगर,विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य किरण भुर्तेल,विश्व हिन्दु महासंघ कावासोती नगर अध्यक्ष आनन्द चापागाईं, नर्मदेश्वर शिवालय मन्दिरका कार्यसमिती सदस्य यज्ञ भुसाल ,माइ नेपालका संयोजक राजेश अर्याल,सदस्य विशाल पौडेल लगायतका धार्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।