कथा – मित्रता
एउटा गाउँ नजिकैको वनमा पन्छीहरूसँगै जीवजन्तुहरू पनि बस्थे । उनीहरू बीच अत्यन्तै सुमधुर सम्बन्ध थियो । उनीहरू साँझ सधैं भेला भएर सुखदुःखका कुरा गर्थे । एकअर्कालाई परेका समस्या पनि भन्थे र समाधान पनि खोज्थे । यसपछि सुरु गर्थे नाच गान ।
गाउँलेहरूले वन मासेर त्यहाँ खेती लगाइदिए । वनको भित्री भागसम्म पुगेर उनीहरूका आहारा छिन्न थाले । ढुकुर, वनकुखुरा, वँदेल,घोरल, मृग आदिको शिकार गर्न थालेपछि उनीहरू अलिक भित्री जङ्गलतिर बसाइँ सरेका थिए । तर, त्यता पानी थिएन तापनि सुखदुःख गुजारा गरेकै थिए ।
जङ्गलमा खानेकुराको अभाव हुन थालेपछि उनीहरू गाउँलेका खेतीपातीमा पस्न विवश भए । त्यो थाहा पाएका गाउँलेले एकदिन वनको छेउमा मिटिङ डाकेका थिए । चर्न गएका सुँगाले साँझपख मानिसको भीड देखे । के रहेछ भनेर रुखमा लुकेर सुन्न थाले । त्यहीँ रात पर्यो । फर्कन भ्याएनन् र चिन्तैचिन्ता र पीरले रात त्यहीँ गुजारे । यता सुँगा नपुगेपछि सबै पशुपन्छीहरूले पनि चिन्ता र पीरमा रात छर्लङ्गै बिताए । जसै उज्यालो भयो सुँगाहहरू साथीहरू भए ठाउँमा पुगे । उनीहरू कुशलै रहेको पाउँदा सबै खुशी भए तर त्यो खुशी धेरै बेर टिकेन । किनकि सुँगाले आज राति वनमा आगो लगाउने भनेर गाउँलेले गरेको निर्णय एकैसासमा सुनाएका थिए ।
मर्ने भइयो भनेर सबैको ओठतालु सुक्यो । यत्तिकैमा खरायोले बँच्ने जुक्ति निकाल्यो । उसले तत्काल नदी पारि बसाइँ सरेमा बच्न सकिने जुक्ति निकालेको थियो । तैरिन नसक्नेलाई हात्ती, गैंडाहरूले तार्ने आश्वासन दिए । उनीहरू दिनभरि हिँडेर नदी छेउमा पुगे । हात्ती र गैंडाहरूले साना पशुहरूलाई तार्न मद्दत गरे । साँच्चै नै साँझ गाउँलेले जंगलमा आगो लगाए । उनीहरूले त्यो दृश्य नदी पारिबाटै देखे। सबैले सुँगालाई धन्यवाद दिए । साथीहरू सबैसँग हासी खुशी बस्न पाएकामा सुँगा पनि दङ्ग परेको थियो ।
लेखक : डा. धनपती कोइराला
मिति : २०८०।१०। ११