काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाईका कारण नागरिकले खेप्नु परेको सकसबारे सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा सुरु गरेको सभापति रवि लामिछाने जानकारी दिए ।
यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने लामिछानेले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । १ सय १३ किलोमिटर लामो दबाब यात्रा आजदेखि ३ दिनसम्म चल्ने छ ।
यात्राका क्रममा स्वागत कार्यक्रम नराख्न लामिछानेले सर्वसाधारणलाई आग्रह गरेका छन् । स्थानीयसँग अन्र्तक्रिया र संवाद कार्यक्रम नराखिएको उनले स्पष्ट पारेका छन् । उनले सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउनलाई दबाब कार्यक्रम गरिएकाले सार्वजनिक सवारी साधनको आवतजावतमा आफ्ना यात्राले कुनै अवरोध नगर्ने पनि बताएका छन् ।
दबाब यात्रामा साथ दिन आउनेले पार्टीको झण्डा, लोगो र पार्टीलाई चिनाउने टिसर्ट लगायत केही पनि प्रयोग नगर्न सभापति लामिछानेले आग्रह गरेका छन् । यात्रा विहान ९ बजे नवलपरासीको गैंडाकोटबाट सुरु भएको छ ।