काठमाडौं । आइतबार क्रोएसियासँग ४–१ ले पराजित भएसँगै लगातार दुई खेलमा हार बेहोर्दै क्यानडा कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएको छ ।
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ’एफ’को खेलमा सुरुआती अग्रतालाई जोगाउन नसक्दा क्यानडा विश्वकपबाट अन्तिम खेलअघि नै बाहिरियो । योसँगै क्यानडा जारी विश्वकपबाट बाहिरिने दोस्रो राष्ट्र बन्यो । यसअघि घरेलु टिम कतार विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको थियो ।
खेलको दोस्रो मिनेटमा नै अल्फान्सो डेभिसले गरेको गोलबाट क्यानडाले अग्रता बनाएको थियो । क्यानडाले विश्वकपको इतिहासमा गरेको यो पहिलो गोल थियो ।
तर, ३६ औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । यस्तै, पहिलो हाफ सकिन अन्तिम मिनेट बाँकी रहँदा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोल गरेको क्रोएसियाले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो ।
७० औं मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३–१ को सहज अवस्थामा पुर्याएका थिए ।