यस अगाडिका निर्वाचनमा ‘मौन अवधि’ का रूपमा चिनिने समयलाई यो निर्वाचनबाट ‘स्थिर समय’ भनिएको छ। यो समयमा विभिन्न ८ वटा काम गर्न नपाइने निर्वाचन आयोगले बताएको छ।
आयोगका अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला‚ गोष्ठी यो अवधिमा गर्न निषेध गरिएको छ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने भनिएको छ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट म्यासेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्ता अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न पनि नपाउने भनिएको छ।
मतदान प्रारम्भ हुनुभन्दा ३ घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीहरूलाई बाधा पुर्याउन नहुने, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस वा जुनसुकै किसिमका सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन नहुने भनिएको छ।
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिका कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भङ्ग गर्न वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउने नपाउने र राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउनुपर्ने भनिएको छ।
निर्वाचन आयोगले वर्जित गरेका कुराहरू गरेमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ लगायत निर्वाचनसम्बन्धी अन्य व्यवस्थाबमोजिम उल्लघंनको प्रकृतिअनुसार कारबाही हुने भनिएको छ।