वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा १ कात्तिकमा बिदा दिने निर्णय गरेको हो।
उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जोशीको १०३ वर्षकाे उमेरमा आइतबार बिहान उपचारकै क्रममा ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो।