टर्कीको कोइलाखानीको विस्फोटमा ४० को मृत्यु

टर्कीको बार्टिन प्रान्तस्थित एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीबाट ५८ जनाको जिवितै उद्धार गरिएको छ । विस्फोट पछि दर्जनौं मानिसहरू पुरिएका बताइएको छ ।

सोयलुका अनुसार विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए । तीमध्ये कम्तीमा आधा कामदार खानीभित्र तीनसय मिटरको गहिराइमा थिए ।
ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरास्थित खानीमा शनिबार विस्फोट भएको हो । स्वास्थ्य अधिकारीले उद्धार गरिएकामध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् । आपतकालिन उद्धारकर्ताहरूले अन्य कामदारहरूलाई पनि जीवितै उद्धार गर्ने प्रयास गरिरहेका अधिकारीहरूको भनाइ छ ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा विस्फोटपछि उद्धार गरिएका कामदारहरू कालोले ढाकिएका देखिन्छन् । खानीमा हराइरहेका कामदारका केही आफन्त उनीहरूको उद्धारको पर्खाइमा देखिन्छन् ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुका अनुसार खानीको तीन सय मिटरदेखि तीन सय पचार मिटर गहिरो क्षेत्रलाई जोखिमपूर्ण ठानिएको र त्यस क्षेत्रमा करिब ५० जना कामदार खटिएका थिए । ‘हामीले अझैसम्म पनि सबै कामदारलाई उद्धार गर्न सकिरहेका छैनौं,’ उनले भने ।
खानीमा भएको विस्फोटको कारणबारे थाहा भइनसकेको र त्यसबारे अनुसन्धान भइहरेको अधिकारीहरूको भनाइ छ । यद्यपि, कोइलाखानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको आशंका अधिकारीहरूको छ । टर्कीका ऊर्जामन्त्रीले विस्फोटपछि खानीको सुरुङ आंशिक रूपमा अवरुद्ध भएपनि हावाको बन्द नभएको बताए । विस्फोटबाट बच्न सफल एक कामदारले खानीभित्र बाक्लो धूवाँ र धूलो फैलिएको बताए । तर त्यसको कारणबारे भने थाहा नभएको बताए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले घटनास्थलको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । टर्कीको दक्षिणी सहर सोमाको एक कोइलाखानीमा स्थित सन् २०१४ मा भएको विस्फोटमा ३ सय १ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search