कावासोती । विश्व पर्यटन दिवसको अवसरमा कावासोतीमा पर्यटन प्रर्वद्धन विशेष कार्यक्रम भएको छ । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा नवलपुर होटल व्यवसायी संघ जिल्ला कार्यसमिति नवलपुरको आयोजना र कावासोती नगरपालिकाको सह आयोजनामा कार्यक्रम भएको हो ।
जिल्लामा असंख्य पर्यटनको सम्भावना बोकेका क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनमा लाग्न आवश्यक भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि बाबुराम विश्वकर्मा, घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, होटल व्यवसायी महासङ्घका केन्द्रिय सदस्य बालकृष्ण पौडेल, कावासोती नगरपालिका शिक्षा अधिकृत राजन पाण्डे, नवलपुर उद्योग संघका अध्यक्ष केवी राना, पर्यटन व्यवसायी डिबि चौधरी सालिकराम सापकोटा लगायतकाले कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा जिल्लाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास सँगै यसको प्रर्वद्धनमा जोड दिनुपर्ने बताएका थिए । यसै गरि यहाँका मौलिक रीतिरिवाज, संस्कृत, जातजातिका नृत्य समेत पर्यटक आकर्षण गर्ने माध्यम भएको भन्दै यसको मौलिकता जोगाई राख्नुपर्नेमा जोड दिइएको थियो । पर्यटकलाई दिने आतित्थ्य सत्कारले ठूलो प्रभाव पार्ने भन्दै यस तर्फ समेत सबैले ध्यान दिनुपर्ने वक्ताहरुको भनाई थियो ।
नवलपुरमा आउने पर्यटकको बसाइ लम्बाउने खालका क्रियाकलापमा जोड दिनुपर्ने समेत वक्ताहरूले बताएका थिए । घरबास एसोशिएसनका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले सम्भाव्यताको पहिचान गरि एकजुट भए मात्रै पर्यटन बिकाश सम्भव भएको बताउनु भयो ।
जिल्लामा विश्व पर्यटन दिवसका दिन समेत औपचारिक रुपमा कुनै पनि कार्यक्रम नहुँदा दिवसनै ओझेलमा परेको भन्दै पहिलोपटक आफूहरूले कार्यक्रम गरेको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताउनुभयो । आगामी दिनमा साता व्यापी रुपमा जिल्लाका सबै क्षेत्र समेटी कार्यक्रम बनाउँदै लैजाने समेत उहाँले बताउनुभयो । जिल्लाको पर्यटन विकासमा होटल व्यवसायी लागेको बताउँदै उहाँले सबैले हातेमालो गर्दै जानुपर्ने बताउनुभयो । स्थानीय तहले समेत पर्यटन विकास र प्रर्वद्धनका कार्यक्रम थप प्रभावकारी रुपमा गर्दै जानुपर्ने अध्यक्ष रानाले बताउनुभयो ।
कावासोती नगरपालिका सभाहलमा भएको कार्यक्रममा नवलपुरको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । कावासोती १२ मा रहेको भोशरघाट धामका संकल्पकर्ता स्वं ज्योतिलाल भट्टराइलाई समेत मरणोपरान्त पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रम पूर्व कावासोतीको फलफूल चोक देखी इन्द्रचोक हुँदै कावासोती नगरपालिका सम्म प्रभातफेरी समेत निकालिएको थियो । जिल्ला अध्यक्ष सन्तोष राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव र पर्यटन ब्यावसायी सुमन लम्सालले गर्नुभएको थियो भने स्वागत सचिव दीपक सिग्देल र धन्यवाद मन्तव्य चोक नारायण काफ्लेले राख्नु भएको थियो ।