ज्ञानु पंगिनी – कावासोती । अखाद्य सामाग्री उत्पादन गरेर पक्राउ परेका पाउरोटी उद्योग सञ्चालक मराफिक अहमदलाई तारेखमा छाडिएको छ ।
गत शुक्रबार नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको जुगुन पाउरोटी उद्योगमा घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा खानतलासी गर्दा उद्योगले उत्पादन गरेका सबै बेकरी आइटम म्याद नाघेको मैदाबाट उत्पादन भएको पाएपछि ठूलो मात्रामा अखाद्य सामाग्री बरामद गरिएको थियो । भने , उद्योग सञ्चालक मराफिक अहमदलाई नियन्त्रणमा समेत लिएको थियो । पक्राउ परेका सञ्चालक अहमदलाई तारेखमा छाडेको र जिल्ला प्रशासन कार्यालयले थप प्रकृया अगि बढाएको डि एस पी तथा सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले यो घटना आवश्यक कारवाही प्रकृयामा रहेको र छिट्टै नै उद्योगलाई कानून बमोजिम दण्ड जरिवाना गरिने नवलपुर प्रेसलाई जानकारी दिनुभयो । उहाँले लगातार छुट्टी रहेकाले रोकिएको र आज भोलिनै यस विषयमा छलफल गरेर आवश्यक कारवाही गरिने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले आवश्यक मापदण्ड पुरा नगरी उद्योग सञ्चालन गर्न रोक लगाएको र अहिले उद्योग बन्द रहेको समेत जानकारी दिनुभएको छ । मापदण्ड पुरा नगरेसम्म उत्पादन गर्न नपाउने उहाँको भनाइ छ । तर , उद्योग भने सञ्चालनमा रहेको छ । उद्योगमा अहिले उत्पादनको काम भइरहेको स्थानीयको भनाई छ । उद्योगबाट उत्पादन भएका सामाग्री सबैतिर सप्लाइ समेत भइरहेको स्थानीयले जानकारी दिएका छन् ।
खाद्य सामाग्री जस्तो महत्वपूर्ण कुरामा कुनै पनि वाहानामा त्यसै छाड्न नहुने उपभोक्ताहरूको माग छ । उद्योग सञ्चालकलाई बचाउन स्थानीय जनप्रतिनिधि नै अग्रसर समेत भएको आरोप स्थानीयको छ । उपभोक्ता हकहित मञ्च नलपुरकी उपाध्यक्ष लक्ष्मीदेवी चन्दले आफूहरू पटक – पटक अनुगमनमा गएर उद्योगका मापदण्ड पुरा गर्न आग्रह गर्दा समेत उद्योग सञ्चालकले बेवास्ता गर्दै आएको बताउनुभयो । यस पटक अनुगमनमा जाँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेर म्याद नाघेको , कीरा परेको मैदाबाट उत्पादन गरेको प्रत्यक्ष देखेका कारण करवाही प्रकृया अघि बढाउने काम सम्बन्धित निकायबाट भएको बताउनुभयो । तर , स्थानीय जनप्रतिनिधि र अगुवाहरू नै उद्योग सञ्चालकलाई बचाउने चलखेलमा लागेको स्थानीयबाट कुरा आएकाले त्यसो हुन नदिन उपभोक्ता नै सचेत हुन जरुरी रहेको उहाँको भनाई छ । गत शुक्रबार उद्योगमा खानतलासी गर्दा उत्पादन गर्ने प्लान्टबाट २२ बोरा म्याद नाघेको मैदा बरामद गरिएको थियो । यस्तै उत्पादन प्रयोग हुने विभिन्न केमिकल , क्रिम समेत म्याद नाघेको पाइएको थियो । टोलीले ११७ पिस पाउरोटी , ३०२ प्याकेट गोलो पाउरोटी एक प्याकेटमा ३ चक्की रहेको ९४४ प्याकेट पप ९ एक प्याकेटमा ५ पिस भएको ० २३७ प्याकेट गोलो बिस्कुट , ५२ प्याकेट टोस्ट १०८ प्याकेट क्रिम रोल बरामद गरिएको थियो ।