माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासको मोडेललाई देशैभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभएको छ । माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई विकासको अनुसरण गर्न योग्य जिल्ला बनाउने सपना पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
“चितवनमा नमुना विकासको प्रयास हामीले गरेका छौँ”, उहाँले भन्नुभयो, “आउने दिनहरुमा निकै ठुलो फड्को सहित तीव्र गतीको विकास र समृद्धिको मोडेल चितवनले प्रस्तुत गर्नेछ ।”
उहाँले चितवन र समग्र विकासमा गती दिन लागिपर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । चितवन क्षेत्र नम्बर ३ बाट फेरी प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले विकासको तीव्र गती ल्याउन जिताउन अपील समेत गर्नुभएको छ । राष्ट्रको एकता, समृद्धिको आकांक्षा लिएर पार्टी प्रवेश गरेकाहरुलाई निराश नपारिने जीकिर गर्नुभयो । सामाजिक न्याय, सबैलाई समानता र विकासको तीव्र गतीको आवश्यकता पुरा गर्न माओवादी केन्द्र लाग्ने बताउनुभयो । उहाँले व्यवस्था बदलिएपनि जनताको अवस्था बद्यलदै घरआँगनमा उज्यालो ल्याउँदै समृद्धि ल्याउन लागिपर्ने बताउनुभयो । सामाजिक न्याय र समानतालाई नयाँ उचाईमा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु शिवाकोटीले ७ सय बढी नेता, कार्यकर्ताहरु पार्टी प्रवेश गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार भरतपुर–२१ का युवा उद्यमी विजय घले, जसपाका जिल्ला संयोजक कैलाश कुमार सुनार, युवा संगठनका जिल्ला अध्यक्ष तथा चलचित्र निर्देशक समाज चितवनका संयोजक केशव दर्जी केडी, जसपाबाट मेयर पदका उम्मेदवार बनेका डा. अव्दुल कलाम, जसपाबाटै भरतपुर ७ को वडाध्यक्ष उम्मेदवार सन्तोष पौडेल, ११ का उम्मेदवार बुद्धिराम विक, मुस्लिम धार्मिक गुरु मोहम्मत हमिद मियाँ लगायत पार्टी प्रवेश गर्नुभएको छ । पश्चिम चितवनका आमा समूह, युवाहरुले अन्य पार्टी छाडेर माओवादीमा प्रवेश गरेका छन् ।