दयाराम आचार्य,नवलपुर । चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ –बुटवल सडक निर्माण कार्य दशैँ पछि पुनः सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भएपनि असोज पछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनसाय बनाएको नारायणगढ – बुटवल सडक विस्तार आयोजना प्रमुख रमेश कुमार दिष्टीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन् । आयोजना प्रमुख दिष्टीले भन्नुभयो ‘अहिले सामान्य राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने काम गरेको छ, विस्तार आयोजनाको काम भने अहिले भएको छैन्, दशैँपछि पुनः काम सुरु गर्ने निर्माण कम्पनीको मनसाय देखिन्छ।’
यो बिचमा म्याद थपको प्रक्रियामा रहेको र अझै वर्षा पनि नसकिएकाले अब दशैँपछि पुनः काम सुरु हुने आयोजना प्रमुख दिष्टीको भनाई छ ।
४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ बुटवल सडक विस्तारको काम थालिएको थियो । तर यस अवधिमा करिब १८ प्रतिशत मात्रै काम भएपछि पुनः एक वर्षका लागि म्याद गरिएको हो ।
म्याद थप भएपछि निर्माणको कार्यले तिव्रता लिने उहाँले बताउनुभयो । ‘यस अघि रूख काट्नुपर्ने प्रक्रिया, विद्युतका पोल सार्ने विषय लगायतका कारण अलमल थियो, अब हाम्रो तर्फबाट सुल्झाउनुपर्ने विषय सबै सकिएको छ’ दिष्टीले भन्नुभयो – यसकारण निर्माण कम्पनीले दु्रत गतिमा काम गर्छ भन्ने विश्वास छ ।
निर्माणमा ढिलाई भएपछि अहिले चाइना स्टेटको मुख्य कार्यालयबाट अध्ययनका लागि टोली आएको उहाँले बताउनुभयो । सडक विस्तारको कामलाई दु्रत गतिमा कसरी लैजाने र ढिलाई भएका विषयमा अध्ययनका लागि टोली आएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । उहाँले भन्नुभयो ‘ मुख्य कार्यालयबाट टोली अध्ययनका लागि आएको छ , आफैपनि कामको ढिलाई हुनुमा के कारण रहेछ भन्ने विश्लेषण गर्ने र कामलाई कसरी तिव्र गतिमा लैजाने भन्ने उनिहरुको लक्ष्य रहेको छ।’
आयोजना प्रमुख दिष्टीका अनुसार पूर्वी खण्डमा पुल निर्माणको काम समेत यसै वर्ष सकिने छ । पूर्वी खण्डमा १२ वटा ठूलो पुल निर्माण गर्नुपर्नेमा १० वटामा काम भइरहेको छ । १० वटा पुलको विभिन्न चरणमा काम चलिरहेको छ । बाँकी दुई वटा पुलको काम समेत सुरु गरि यसै वर्ष सबै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । साविकका ठूलो पुल रहेको स्थानमा एउटा नयाँ पुल थपिनेछन् । साविकका पुल यथावत सञ्चालनमा रहनेछन् ।
साना पुलहरू २२ वटा निर्माण गर्नुपर्नेमा १५ वटाको काम सकिएर यातायात समेत पुलबाटै सुचारु भएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । साना पुलहरु मध्य कुनै स्थानमा एउटा कुनै स्थानमा दुईवटै सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व –पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ –बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । दुई लेनमा रहेको यस सडक खण्ड बजार क्षेत्रमा सर्भिस लेन सहित ६ , दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको निर्माण हुनेछ ।
गैंडोकोटदेखि दाउन्ने सम्म पहिलो खण्ड ६५ किलोमिटर र दाउन्नेदेखि बुटवल सम्म ४९ किलोमिटर गरि दुई खण्डमा विभाजन गरेर निर्माणको काम चलिरहेको छ । करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समय सम्म पनि निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । खाल्डाखुल्डीले राजमार्ग जीर्ण बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यस खण्डको यात्रा सकस पूर्ण हुने गरेको छ ।
