काठमाडौँ । आज बिहानै काठमाडौँका दुई ठाउँमा यात्रुबस तोडफोड गरिएको छ । थापागाउँमा र कोटेश्वरमा बसमाथि तोडफोड भएको हो ।
बिहान करिब ७ बजे थापागाँउको पाठशाला स्कुलनजिक नेपाल यातायातको बा ४ ख ९०१९ नम्बरको बसमा तोडफोड भएको छ ।
यसैगरी बिहान साढे ६ बजे कोटेश्वरमा महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा तोडफोड गरिएको थियो । सो बसमा बन्दकर्ता ५ जनाको समूहमा आएका बन्दकर्ताले तोडफोड गरेका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै बसमाथि तोडफोड भएको हो । तर तोडफोडमा संलग्नहरु भागेकाले पहिचान हुन सकेको छैन ।
विप्लव समूहका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ ।