स्वास्थ्य बिमा बन्द,निजी अस्पतालमा बिरामी मर्कामा

विराटनगर । सुनसरीको दुहवी नगरपालिका–५ का लालकृष्ण गौतम असार २४ गते मोटरसाइकल दुर्घटनामा परे । उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल भर्ना गरियो । गौतमको स्वास्थ्य बिमा गराइएको थियो । बिमा कार्डका आधारमा उपचार सुरु गरिएका उनको अवस्था अहिले सामान्य छ ।

दाहिने खुट्टामा स्टिल लगाइएको छ । अस्पतालले डिस्चार्ज दिने तयारी गर्दै छ । तर सम्पूर्ण उपचार खर्च आफैँले तिर्नुपर्ने भनेर अस्पतालले भनेपछि गौतम समस्यामा परेका छन् । ‘अस्पतालले असार ३२ गतेसम्म भर्ना भएका बिरामीले बिमा कार्यक्रमअन्तर्गतको सेवा पाउँछन् भनेको थियो । अहिले बिरामी डिस्चार्ज गर्ने बेलामा सबै उपचार खर्च आफैँले तिर्नुपर्छ भनिरहेको छ,’ गौतमकी पत्नी मेनुकाले भनिन्, ‘बिमाको आशमा भर्ना गरिए पनि उपचार खर्च आफैँले बेहोर्नुपर्छ भनेपछि हामी समस्यामा परेका छौँ । अस्पताललाई तिर्ने पैसा कताबाट जुटाउनु भन्ने अर्को तनाव थपियो ।’

बिमाको भरमा उपचार गराउन गौतमजस्ता धेरै बिरामी विराटमा भर्ना भएका छन् । तर सरकारले निजी स्वास्थ्य संस्थाबाट बिमामार्फत हुने उपचार बन्द गरेपछि बिरामी मर्कामा परेका छन् । अर्कोतर्फ अस्पतालले पनि साउन १ गतेअघि भर्ना भएका बिरामीको समेत स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराउन सक्ने अवस्था नभएको जनाएको छ ।

बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नगरिकन उपचाररत बिमितको अभिलेखीकरण गरिँदै आएको बिलिङ सफ्टवेयर बन्द गरिदिएको छ । बोर्डले बिमामार्फत बिरामीलाई उपचार गर्दाको करोडौं रूपैयाँ निजी अस्पताललाई भुक्तानी गर्न बाँकी छ ।

भुक्तानी नै नदिइकन बोर्डले मङ्गलबारबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएको हो । जसका कारण निजी अस्पतालमा भर्ना भएर उपचाररत बिरामी मर्काका परेका छन् । बिरामी स्वयंले उपचारवापतको सबै खर्च बेहोर्नुपर्ने अवस्था आएको छ । विराटले २०७४ चैत्र २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको उपचार सेवा सुरु गरेको थियो । बिमाबाट दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिइरहेका थिए । कतिपय बिरामी बेड भर्ना भएर उपचार गराइरहेका छन् ।

विराटसहित प्रदेश १ का नोबेल, बि एन्ड सीलगायतका ठूला निजी अस्पतालको अवस्था पनि उस्तै छ । निजी अस्पतालले बिमावापतको सेवा बन्द गरेका छन् । उपचारका लागि भर्ना भएकाले उपचारवापतको सबै रकम आफैँ तिर्नुपर्ने अवस्था आएको छ ।

बोर्डले विराट र बि एन्ड सीलाई ४४–४४ करोड र नोबेललाई ५५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्यमार्फत सरकारले साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारले उक्त कार्यक्रम निजी अस्पतालबाट चलाउने कि नचलाउने भन्ने स्पष्ट पारेको छैन । जसका कारण साउन १ गतेदेखि निजी अस्पतालले बिमावापतको सेवा बन्द गरिदिए ।
विराटका प्रशासन प्रमुख प्रमेशराज टेवकोटाले सरकारले भुक्तानी नदिएपछि बिमावापतको सेवा सञ्चालन गर्न नसकिएको बताए । बक्यौता भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि बोर्डले नसुनेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका बिरामीले बिमामार्फत सहज सेवा लिइरहेका थिए । तर बोर्डले भुक्तानी नदिइकन बिलिङ सफ्टवेयर बन्द गरिदियो,’ उनले भने, ‘अगाडिकै भुक्तानी नपाइरहेको अवस्थामा सेवालाई निरन्तरता दिन सकिएन । सरकारले पनि बिमा कार्यक्रम निजी अस्पतालबाट नचलाउने भनिसकेको छ ।’

बिमा बोर्डबाट बक्यौता रकम भुक्तानी नहुँदा अस्पतालमाथि ठूलोे आर्थिक भार थपिएको सञ्चालकहरुले बताएका छन् । बक्यौता भुक्तानीको अभावमा औषधि खरिद, स्वास्थ्यकर्मीको तलब र अन्य आन्तरिक खर्च व्यवस्थापनमा समस्या आइपरेको अस्पतालहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search