पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित सुनसरी पुलमा भारतीय स्कोरपिओ गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ११ पिबी ८०१२ नम्बरको स्कोरपिओले साँझ ६ बजेतिर ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनुषा बर्दिवास नगरपालिका–६ का अन्दाजी ३० वर्षीय बालकृष्ण रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइयो । न्युरामै उपचारका क्रममा बुधवार साँझ ७ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कोरपिओ र चालक भारत पूर्णियाका २० वर्षी विपिनकुमार मेहतालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । स्कोरपिओको तीव्र गतिका कारण दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।
