किसानको गोबर मल बिकेन, रासायनिक मल लिन तँछाडमछाड !

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भरतपुर । चितवनका पशुपालक किसानको गोबर मल मलखादमा थुप्रेर बसेको छ । चितवनमा पाँच सयको हाराहारीमा रहेका गाई तथा भैँसी फार्मको गोबर बिकेको छैन, तर बजारमा रासायनिक मल लिन तँछाडमछाड चलिरहेको छ ।
कृषि सामग्री कम्पनी भरतपुरले यतिबेला कृषि सहकारी, एग्रोभेट तथा बिक्री केन्द्रहरुलाई सीमित मात्रामा रासायनिक मल वितरण गरिरहेको छ । बिक्री केन्द्रहरु रासायनिक मलका लागि तँछाडमछाड गरिरहेका छन्, तर पशुपालक किसानले गोबर मल नबिकेर हैरानी खेपेका छन् ।

रत्ननगर–१० मा गाईफार्म चलाएका किसान किशोर बगालेका अनुसार जिल्लामा ठूला गाई तथा भैँसी फार्ममा गोबर मल टन्नै छ, तर बिकेको छैन । उनले भने, ‘रासायनिक मल लिन तँछाडमछाड भइरहेको छ, रासायनिक मलभन्दा खेतीपातीका लागि राम्रो मानिने गोबर मल बिक्दैन ।’ उनीसँग अहिले ५० टे«लर गोबर मल छ । कुन दिन बिक्ला भनेर दिन हेरेर बसेको उनी बताउँछन् । उनले भने, ‘मेरोमात्रै होइन, चितवनका गाई तथा भैँसीफार्म चलाएका सबै पशुपालक किसानको हालत यस्तै छ ।’

उनका अनुसार २० वर्षअगाडि गोबर मलमात्रै हालेर कट्ठाको चार मुरी धान सजिलै उब्जनी हुन्थ्यो चितवनमा, अहिले रासायनिक मल हालेर त्यति पनि उव्जनी भएको देखिँदैन । तर पनि रासायनिक मलका लागि तँछाडमछाड भइरहेको छ । उनले थपे, ‘रासायनिक मलको हाहाकार हुँदा पनि पशुपालक किसानको गोबर मल नबिक्नु योभन्दा दुर्भाग्य अरु के हुन सक्छ ?’

उनले चितवनका गाई तथा भैँसीफार्महरुमा जिल्लालाई पुग्ने गोबर मल उत्पादन भएको बताए । उनले भने, ‘१० वर्षअघि रासायनिक मल नहाली गोबर मलमात्रै हाल्नेहरु पनि आज रासायनिक मलका लागि दौडिरहेका छन् । राज्यले गोबर मल, विभिन्न प्राङ्गारिक मलतर्फ आकर्षित गर्न सकेको छैन ।’

प्राङ्गारिक मलका विज्ञ चन्द्रप्रसाद अधिकारीका अनुसार प्राङ्गारिक मलतर्फ आकर्षित गर्न राज्यले कुनै ध्यान दिएको छैन, रासायनिक मलमै राजनीति गरिरहेको छ । उनले भने, ‘किसानको गोबर मल बिकेको छैन, चितवनमा उत्पादन भएको प्राङ्गारिक मल गोदाममा थन्केर बसेको छ । तर, बजारमा आउने माटो बिगार्ने रासायनिक मल लिन दौडधूप भए पनि पाइएको छैन ।’ उनले राज्यका निकायहरु नै प्राङ्गारिक मलको उत्पादन, बजारीकरणमा पूरा उदासीन भएको बताए ।
‘प्राङ्गारिक मलतर्फ राज्यले न अनुदान दिएको छ, न कुनै सहुलियत दिएको छ । प्राङ्गारिक मल उत्पादन केन्द्रहरुलाई न मेसिनमा अनुदान दिएको छ, न त उद्योग दर्तामा छूट छ’, उनले भने, ‘चितवनमा रहेका एक दर्जन प्राङ्गारिक उत्पादन केन्द्रहरु धराशायी छन्, चले पनि घाटामा छन् ।’ उनले फूलबारीमा रहेको आफ्नो प्राङ्गारिक उत्पादन केन्द्रको अवस्था पनि नाजुक भएको बताए ।

उनले भने, ‘बजारमा रासायनिक मल लिन लाइन छ, अवैधरुपमा भित्रिएका मलहरु लिन दौडादौड छ । हामीले उत्पादन गरेको प्राङ्गारिक मल नबिकेर थन्केको छ, हामी घाटामा छौँ ।’

उनले यस्तो अवस्था आउनुमा राज्यको नीति नै ठीक नभएको बताए । ‘राज्य आयातित रासायनिक मलका लागि किसानलाई लडाइरहेको छ, प्राङ्गारिक मल र गोबर मलमा आकर्षित गर्न सकिरहेको छैन’, उनले भने, ‘देशभर २८ वटा प्राङ्गारिक मल उद्योग रहेकोमा राज्यको उदासीनताका कारण अहिले धेरै बन्द भइसकेका छन् ।’

मातृभूमि कृषि सामग्री उद्योगका सञ्चालक विष्णुप्रसाद चापागाईंका अनुसार रासायनिक मलभन्दा प्राङ्गारिक गड्यौले मल बढी शक्तिशाली रहेको छ । उनले भने, ‘एक हप्तामा गड्यौले मलको प्रभाव बालीमा देखिन्छ । यसमा १.५ नाइट्रोजन, ०.५५ फस्फोरस हुन्छ । ३० रूपैयाँ किलोमा पाइन्छ, तर पनि मानिसहरु चेतनाको अभावले हो कि देखासिकीले हो रासायनिक मल लिन तँछाडमछाड गरेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...