रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जुद्ध माध्यमिक विद्यालयले निर्देशन विपरित शुल्क उठाएको गुनासो आएपछि विद्यालयमा पुगेर कागजपत्र नियन्त्रणमा लिएका छन्। नगरपालिकाको निर्देशन विपरित विद्यार्थीसित शुल्क उठाउँदै गरेको व्यापक गुनासो नगरपालिका कार्यालयमा पुगेपछि नगरप्रमुख साह आफैँ विद्यालय पुगेका थिए।
जुद्ध माध्यमिक विद्यालयले निर्देशन तथा सहमति विपरित विद्यार्थीसँग अनेक बहानामा शुल्क उठाउने गरेको गुनासो निकै पहिलेदेखि नै चल्दै आएको छ। शुल्कको विषयमा जुद्ध माविमा हरेक वर्ष विवाद हुने गरेको छ। विद्यालयमा अनाधिकृतरुपमा फेरि शुल्क उठाइरहेको गुनासो नगरपालिकामा पुगेपछि नगरप्रमुख साह शिक्षा शाखाका कर्मचारीसहित विद्यालयमा पुगेर शुल्क उठाउने गरेको आर्थिक कागजपत्र नियन्त्रणमा लिएका हुन्।
विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा दस्तुरको एक सय रुपैयाँभन्दा बढी नबुझाउन पनि नगरप्रमुख साहले आग्रह गरेका छन्। अनावश्यक शुल्क उठाएको विषयसम्बन्धी कागजातको सम्बन्धित निकायबाट छानबिन गराई आवश्यक निर्णय लिइने नगरप्रमुख साहले बताएका छन्।