जेठ २३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाउने भनेका मन्त्रीहरुलाई काममा फर्कन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । हिजोमात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको निर्णयअनुसार अहिले भएका मन्त्रीहरु हटाएर नयाँ मन्त्रीहरु बनाउनेगरि नाम लिएर बालुवाटार पुगेका थिए ।
तर, प्रधानमन्त्री देउवा भने माधव नेपालको यस्तो निर्णयबाट असन्तुष्ट सुनिए । उनले हिजै माधव नेपाललाई अहिले मन्त्रीहरु हटाउने काम गर्न नहुने धारणा राखेका थिए । त्यसको भोलिपल्ट आज मन्त्रीहरु नै बालुवाटार पुगेर आफूहरुलाई तत्काल नहटाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेका थिए । अहिले ती मन्त्रीहरुले पार्टीभित्रै विद्रोहको तयारी थालेका छन् । उनीहरुहरुसहित १८ सांसद एकजुट भएको बुझिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री देउवाले आफूहरुलाई काममा फर्कन निर्देशन दिएको सुनाईन् । उनले भनिन्–‘प्रधानमन्त्रीज्यूले बोलाएर हामीलाई काममा फर्कन निर्देशन दिनुभएको छ, हामी काममा फर्किन्छौं । उहाँले बजेट भर्खरै आएको छ, यसबारे उठेका प्रश्नको जवाफ दिनुपर्नेछ, अहिले हटाउने कुरा छैन् भनेर भन्नुभएको छ।’ उनले आफूहरुलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले निर्णय गरेपनि अहिलेसम्म जानकारी नभएको बताईन् ।