नवलपुर । वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्याउन सक्ने देखिएको छ । उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बंगुर मरेको सरकारी रेकर्ड छ । सरकारी रेकर्डमा उक्त तथ्यांक आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको संख्या दोब्बर हुन सक्ने अनुमान छ । अफ्रिकन स्वाइनफिभर देखापरेर हालसम्म काठमाडौंको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायणमा उक्त रोगका कारण धेरै सुँगुर तथा बंगुर मरेका हुन् । माउ काठमाडौं जाने र पालनका लागि पाठापाठी जिल्लातिर पठाउने गरिएका कारण अन्य जिल्ला पनि उक्त रोगको जोखिममा रहेको उहाँले बताउनुभयो । हेटौंडाका विभिन्न क्षेत्रमा व्यावसायिकरूपमा बंगुरपालन गर्ने गरिएको छ । अफ्रिकन स्वाइनफिभर बंगुर, सुँगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग हो । खोर वा फार्ममा रहेका शतप्रतिशत बंगुर, सुँगुर मर्न सक्ने हुनाले उक्त रोग आर्थिक हिसाबले क्षति गर्ने खालको छ ।
डा. प्रधानका अनुसार अफ्रिकाको रैथाने उक्त रोग युरोप हुँदै सन् २०१८ मा चीनमा देखिएपछि एसियाका विभिन्न्न मुलुक हुँदै सन् २०२० मेमा भारतको आसाममा देखा परेको थियो । नेपालमा समेत रोगको जोखिम बढेको छ । उक्त भाइरस निकै प्रतिरोधी हुन्छ । भाइरस पशुबाट मानिसमा सर्दैन । त्यसकारण बंगुर, सुँगुर र बँदेल मरे वा मरेको थाहा भए नजिकको पशुसेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा यथाशीघ्र खबर गर्न डा. प्रधानको सुझाव छ ।
यो समाचार आजको नेपाल समाचापत्र दैनिकमा प्रकाशित छ ।