राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचन २०७९ मा भएको कमी कमजोरीकाबारेमा समीक्षा गरेको छ । मोर्चाको आइतबार देवचुली नगरपालिका रजहरमा बसेको जिल्ला स्तरीय बैठकले गत स्थानीय निर्वाचनमा मोर्चालाई भएको असफलताको बारेमा समीक्षा गरेको हो । बैठकमा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विश्वासघात गरेको निष्कर्ष निकालेको छ ।
अधिकांश सदस्यहरुले नेकासँग सहकार्य गर्नु ठूलो भूल भएको सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । नेपाली कांग्रेस नवलपुरले पटकपटक बैठक बसी गरिएका सम्झौताहरु अन्तिम समयमा आएर उल्लंघन गरेकोले आफुहरु स्थानिय निर्वाचनमा आशातित परिणाम हाँसिल गर्न असफल भएको निष्कर्ष निकालेको हो ।
त्यसैगरी जिल्लाभरी सबै सिटहरुमा उम्मेदवारी दिन नसक्नु मोर्चाको अर्को कमजोरी भएको पनि निष्कर्ष निकालिएको छ । बैठकले गैंडाकोट नगरपालिकामा सफल हुन नसकेको सन्दर्भमा पनि छलफल गरेको थियो । जसअनुसार गैंडाकोट वडा नम्बर १६ छोडेर १० रोज्नु राष्ट्रिय जनमोर्चाको कमजोरी भएको निष्कर्ष निकालिएको छ । बैठकले गैंडाकोट १० का उम्मेदवारले निर्वाचनमा प्रचार-प्रसार नगर्नुलाई पनि कमजोरी भएको निष्कर्ष निकालेको छ ।
मोर्चाका नवलपुर अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा भएको बैठकमा मोर्चाका केन्द्रीय नेताहरु आनन्द शर्मा र कृष्णप्रसाद अधिकारी समेत सहभागि रहनुभएको थियो