कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ध्वनिप्रदूषण गरेर प्रेशर हर्न बजाउने सवारीसाधनको हर्न निकाल्न थालेको छ । पूर्वपश्चि राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनले बजार क्षेत्रमा प्रेशर हर्न बजाएर ध्वनिप्रदूषण गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस्ता हर्न निकालेको हो । ट्राफिक प्रहरीले प्रेशर हर्न नियन्त्रण सम्बन्धी एक हप्ते कार्यक्रम नै जिल्लामा सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक प्रदिप थापाले जानकारी दिए ।
यो कार्यक्रम आज बिहिबार देखि सुरु भएको हो । आज मात्रै ट्राफिक प्रहरीले १७० सवारीसाधनका ३०० प्रेशर हर्न निकालिएको ट्राफिक प्रमुख थापाले बताए । ‘सवारीसाधनले जथाभावी हर्न बजाउँदै हिँडेको जनगुनासो आयो,’ उनले भने- ‘बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्र र विद्यालय क्षेत्रमा प्रेशर हर्न बजाउने सवारीको हर्न झिकेका हौं ।’ ‘सवारी चालकलाई प्रेशर हर्न नबझाउन निर्देशन दिएका छौं,’ उनले भने- ‘अटेर गरेर हर्न बजाउनेलाई तुरुन्तै कारबाही गरिन्छ I एकपटक हर्न झिकिसकेको सवारीसाधनले पुनः प्रेशर हर्न बझाएमा जरीवाना गरिने प्रहरीले बताएको छ । बिहीबार कावासोतीको फलफुल चोकबाट प्रेशर हर्न निकाल्न सुरु भएको र यो अभियान जिल्लाको अन्य बजार क्षेत्रमा पनि लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी लेखनाथ पुरी जानकारी दिए ।