सिरहा । नेपाल पत्रकार महासँघ सिरहा शाखाका सचिव शिवदयाल यादवसँग कागजपत्रलाई लिएर विवाद गरेका ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।
सिरहाको सदरमुकाम सिरहास्थित नै डयुटीमा खटेको बेला महासँघका सचिव यादवसँग भएको विवादको कारण उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहान तानिएको छ।
ट्राफिक प्रहरी जवान चन्द्रशेखर साहले गत मँगलबार दिउँसो करिब ४ बजेको समयमा सुरक्षा चेकिंगको क्रममा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित चेकजाँचको क्रममा कागजपत्र मागेपछि विवाद भएको थियो ।
महासँघका सचिव यादवसँग त्यतिबेला भौतिक कागजपत्र नभएको तथा मोबाईलमा बिलबुकको फोटो र प्रिन्ट मात्र भएको भन्दै ट्राफिकले सक्कल बिलबुक र लाईसेन्स माग गरेपछि विवाद चर्किएको थियो ।
सो क्रममा ट्राफिक प्रहरी साहले महासँघका सचिव यादवसँग दुरव्यवहार समेत गरेको भिडियोमा देखिएको छ । यद्यपी, यादवले भिडियो खिच्न थालेपछि ट्राफिकले पनि भिडियो तान्न सुरु गरेको थियो ।
सो क्रममा ट्राफिक प्रहरी जवान साहले प्रहरीको अनुशासन विपरित तवरले बोल्दै गरेको भिडियोमा प्रत्यक्ष हेर्न सकिन्छ । सानो विवादपछि पत्रकार यादवको मोबाईल र मोटरसाईकल दुवै खोसेका ट्राफिकलाई सोधपुछ र अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तानिएको ट्राफिक प्रहरी ईन्सपेक्टर टिकेन्द्र श्रेष्ठले जानकारी दिए ।