‘दलहरू नसुध्रिए हरेक पालिकामा बालेन, हर्कराज र गोपालहरूको उदय हुनेछ’

काठमाडौँ — राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले दलहरू र राजनीतिक नेतृत्व सुध्रिनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा सम्बोधन गर्दै देवकोटाले यसअघि निर्वाचित भए पनि जनप्रतिनिधिले नागरिकलाई खुसी पार्न नसकेको बताएका हुन् ।

नागरिकको हितमा काम नगरेकै कारण संघीय राजधानी काठमाडौंलगायतका देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको उनको भनाइ छ । नागरिकले परिवर्तको आभास गर्नका लागि नै स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए ।

नागरिकलाई खुसी पार्न नसकेका राजधानी तथा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको अवस्थामा नागरिकले परिवर्तन चाहेको आभास भएको छ ।

‘राजधानी तथा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको अवस्थामा नागरिकले परिवर्तन चाहेको आभास भएको छ,’ उनले भने । उनले सांसदसहित राज्यका कुनै पनि कार्यकारी पदमा दुई पटकभन्दा बढी बस्न नपाइने कानुनी व्यवस्था गर्न पनि माग गरे ।

उनले भने, ‘सांसदसहित राज्यका कुनै पनि कार्यकारी पदमा लगातार दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गरौँ । संविधान र कानुनमा कहाँ लेख्नुपर्ने हो लेखौँ । यहाँ त पटक पटक सांसद भएका पटक पटक मन्त्री भएका पनि मेयर र अध्यक्षमा पनि ताक्न थाले, यो त अचम्मै भयो । हामीले यसबाट शिक्षा लिऔं, हामी सुध्रिएनौँ भने हरेक पालिकामा बालेन साह, हर्कराज साम्पाङ र गोपाल हमालहरूको उदय हुनेछ ।’

जनतासँग घुलमिल हुन नसकेको र उनीहरूलाई राम्रोसँग खुसी पार्न नसकेकाले स्वतन्त्र उम्मेदवारहरूका पक्षमा जनता देखिएको पनि उनको भनाइ छ । काठमाडौंले मधेसी मूल र वीरगन्जले पहाडी मूलका उम्मेदवारहरूलाई अनुमोदन गर्नु खुसीको कुरा भएको उनले बताए ।

‘यो राम्रो पक्ष हो तराई मधेसबाट पहिलेदेखि नै पहाडी मूलका व्यक्तिहरूले प्रतिनिधित्व गर्थे तर काठमाडौंमा मधेसी मूलका उम्मेदवारलाई स्वीकार गर्नु ठूलो छलाङ हो । चेतना र राजनीतिक स्तरमा आएको परिवर्तन पनि हो । यसलाई हामी सबैले स्वागत पनि गर्नुपर्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले गठबन्धन र एमालेका उम्मेदवारलाई ठूलो मतान्तरले पछाडि छाडेका छन् । त्यस्तै वीरगन्जमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह जितनजिक पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search