नवलपुर । पुरुषको लागि अस्थाई साधन स्वास्थचौकीमा निशुल्क पाईने गर्छ तर महिलाको मासिक हुन आउने महिनावारी र त्यसका लागि प्रयोगमा आउने प्याडको मुल्यमा न त सरकारले कुनै व्यबस्था नै गर्न सकेको छ न त कुनै तवर बाट निशुल्क नै पाईन्छ ।
महिनावारी को बेलामा प्रयोग गरिने प्याड को मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ । अन्य सामग्री सँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनु पर्ने र यसको सर्वसुलभ उपलब्धताको लागि समेत आवाज उठ्ने गरेको छ ।
यता कावासोतीका भने आफूलाई आवश्यक पर्ने प्याड आफैले निर्माण गर्ने र आफ्नो अभिभावकलाई समेत सिकाउने अभियान प्रभावकारी बन्दै गएको छ । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका सहजकर्ता किशोरीहरुले बिदाको दिन परे पछी आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका स्तरमा महिनावारी सरसफाई र प्याड निर्माण सिकाउदै आएका छन् ।
आज कावासोती नगरपालिका वार्ड नं १० मगरकोटमा तालिम प्राप्त किशोरी अभियन्ताहरुले पुन: प्रयोग योग्य प्याड बनाउने र महिनाबारिको बारेमा किशोरीहरु र अभिभावकलाई सिकाउनु भएको छ । छात्रा विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको ज्ञान र प्याड बनाउन पाउँदा खुसी देखिएका थिए । महिनावारीको बेलामा बिद्यालय नआउने र विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर लाई रोक्न यसले सहयोग गर्ने सहभागी किशोरीहरूले बताए ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३५ जना किशोरीलाई साथी शिक्षक (peer educator) को रूपमा तालिम हरु दियर उनीहरूको मार्फत कावासोती नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताउनुभयो।
किशोरी शसक्तिकरण अभियानअन्तर्गत समुदाय तथा विद्यालयमा रहेका बाल विवाह, सानो उमेरमा नै बच्चा जन्माउने, लागू औषधको प्रयोग, अनलाईनको दुरुपयोग जस्ता समस्याहरुको पहिचान गरी ती समस्याहरु समाधानका लागि स्वयं किशोर र किशोरीहरुको सहभागितासहित अभिभावक सचेतना कार्यक्रम संचालन, बाल क्लवहरुको क्षमता अभिवृद्धि गरी अभियानहरू संचालन, जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सहभागिता अभिवृद्धिको लागि पहलहरु गर्ने जस्ता कार्यक्रमहरु रहेको बताइएको छ। आजको सो कार्यक्रममा २० जना किशोरीहरु र अभिभावक हरुको सहभागिता रहेको थियो ।