रामचन्द्रले जगन्नाथलाई भने, ‘मोटामोटी सहमति बनाऊँ, उम्मेदवारी फिर्ता लिने गरी सभापतिसँग भेटौं’

भरतपुर– सत्ता गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर उम्मेदवार बनाएको भरतपुरमा कांग्रेस नेताको बागी उम्मेदवारी परेपछि उनलाई सम्झाएर उम्मेदवारी फिर्ता गराउने जिम्मेवारीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खटिएका छन् ।

पौडेलले आज विहान भरतपुर लायन्स चोकमा रहेको कांग्रेस केन्द्रीय सदस्य एवं व्यवसायी उमेश श्रेष्ठको सिराइचुली होटलमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेल र उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई भेटेर उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

हाल भततपुरमै रहेका सभापति देउवाले रामचन्द्र पौडेलसँगको भेट सकारात्मक भएमात्र आफूले जगन्नाथ पौडेल र उनका प्रस्तावक एवं समर्थकसँग भेट्ने बताएको उनी निकट एक नेताले बताए ।

‘रामचन्द्र दाईसँगको भेटपछि उहाँहरू हामी सल्लाह गर्छौं भनेर निस्कनुभएको छ,’ उनले भने, ‘उम्मेदवारी फिर्तामा सकारात्मक नभए सभापतिले भेट्नुहुन्न ।’

जानकारहरूका अनुसार, पौडेलले आज गठबन्धनका सबै नेता भरतपुरमा रहेको र जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरे सकारात्मक चुनावी सन्देश दिन सकिने बताएका थिए । वरिष्ठ नेता पौडेलले ‘मोटामोटी सहमति बनाउँ, त्यसपछि सभापतिसँग भेटेर टुंग्याउनुपर्ने कुराहरू उहाँसँग भेटेर टुंग्याउँला भनेका थिए ।’

भेटमा जगन्नाथ पौडेलको टिमले आफूहरू रेणु दाहालसमेत गठबन्धनका नेताहरूसँग सामूहिक बसेर छलफल गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । पौडेलले पार्टीले आफूलाई अहिलेसम्म नसम्झेको र आफ्नो उम्मेदवारीलाई कांग्रेसको बागी भनेर नबुझीदिन आग्रह गरेका थिए ।

यसअघि कांग्रेसका केन्द्रीय सदस्यद्वय गृहमन्त्री बालकृष्ण खाँड र विनाविभागी राज्यमन्त्री उमेश श्रेष्ठले गरेको भगीरथ प्रयत्न सफल नभएपछि सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेललाई काठमाडौँ आउन भनेका थिए । तर पौडेलले आफू निर्वाचनको काममा व्यस्त रहेकाले आउन नसक्ने प्रतिक्रिया दिए ।

सत्ता गठबन्धनको एकीकृत चुनावी आमसभाका लागि अहिले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन अहिले कांग्रेसका केन्द्रीय नेताहरूको ध्यान जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउनेतर्फ छ । यद्यपि, त्यसका लागि जगन्नाथ पौडेलको समूह सकारात्मक देखिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search