काठमाडौं । पहिलो टी–२० क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।
नेपालले सुखद शुरुआत गरेको छ । पहिलो विकेटका लागि २७ रनको साझेदारी भएकोछ । आसिफ शेख १६ बलमा ९ रन बनाएर आउट भएका छन् ।
ओपनर कुशल भुर्तेलले भने आक्रामक खेलेका छन् । उनलाई रोहित पौडेलले साथ दिएका छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।
नेपालले तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपाल सुखद शुरुआत गर्न चाहे पनि टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।
नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ तीन खेलको टी–२० सिरिजपछि तीन खेलकै एक दिवसीय सिरिज खेल्नेछ ।