गैंडाकोट, १६ वैशाख । स्थानीय तह निर्वाचन निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न होस् भन्ने उद्देश्यले शुक्रबार गैंडाकोटमा निर्वाचन सचेतना र्याली निकालिएको छ । विजय विकास स्रोत केन्द्रको आयोजनामा निकालिएको र्याली कालिकाचोकबाट सुरु भई नगरपालिका परिसरमा पुगेर टुंगिएको थियो । र्याली समापन कार्यक्रममा बोल्दै निर्वाचन अधिकृतको कार्यालय गैंडाकोटकी निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले निर्वाचन आचारसंहिता पालना गर्नमा जोड दिइन् ।
उनले आचारसंहिता हाम्रो आचरणसँग जोडिएको विषय भएको बताउँदै आचारसंहिता पालना गर्नु सबैको कर्तव्य भएको बताइन् । उनले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि किसिमको अभिव्यक्ति दिन नहुने बताइन् । उम्मेदवारको चुनाव चिह्न अंकित टोपी, टिसर्ट, झोला लगायत कुनै पनि किसिमका सामग्री बनाउन र वितरण गर्न नपाइने भनी आचारसंहितामा स्पष्ट पारिएको उनले बताइन् ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष केशव शर्माले अहिलेको निर्वाचनमा पहिलाको जस्तो उत्साह घटेको बताए । उनले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारप्रति गालीगलौज गर्न नहुने विचार व्यक्त गरे । सचेतना न्यालीमा विजय ग्रुपमा आवद्ध आधा दर्जन संस्थाका प्रतिनिधि, गैंडाकोट खेलकुद समिति, गैंडाकोट जेसिजलगायतका संघसंस्थाबाट सहभागिता रहेको थियो ।