खगेन्द्र पराजुली,
नवलपुर, बैशाख १४ । नो पुर्जा नो भोटको बिषयले तरंगित भएको देवचुली नगरपालिकाको वडा नं. ४ मा आसन्न निर्वाचनको सम्मुखमा सवैभन्दा धेरै राजनैतिक दलको सहभागिता देखिएको छ । नगरभरिमा ११ दल र स्वतन्त्र पक्षबाट उम्मेदवारी दिएकामध्ये ७ दल र १ स्वतन्त्र समूह गरी ८ पक्षका २७ जनाले उम्मेदवारी दिएका छन् ।
पूर्जा नपाएसम्म उम्मेदवारलाई वडाक्षेत्रमै प्रवेश समेत नदिने संकल्प गरेकै गाउँमा अहिले सवैभन्दा धेरै राजनीति चहल पहल र चुनावी सरगर्मी समेत बढेको छ । दुई ठूला राजनैतिक दल नेपाली काँग्रस र नेकपा एमालेसँगै जसपा, नेकपा एकिकृत समाजबादी, राप्रपा, मंगोल नेशनल, नेका विपी र स्वतन्त्रबाट उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय देवचुलीले जनाएको छ ।
वडा नं. ४ मा एमालेले वडाध्यक्षमा पुरानै अनुहार दोहार्याएको छ ।
निवर्तमान अध्यक्ष गिरबहादुर थापा क्षेत्रीलाई एमालेले पुनः दोहोर्याएको हो । नेपाली काँग्रेसले हेमराज भण्डारीलाई अगाडी सारेको छ । यस्तै, जसपाले नारायण भण्डारीलाई, राप्रपाले दिपक रेग्मीलाई, मंगोल नेशनलले बमबहादुर सौमैलाई उम्मेदवार बनाएको छ भने नेका विपीवाट भरतबहादुर कार्की र स्वतन्त्रबाट होमबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
वडा सदस्यमा नेकपा एसका भिमबहादुर बस्नेत सहित ९ जनाको , महिला सदस्यमा ६ जना र दलित महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।